कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

नझरेका फूलहरूद्वारा सञ्चालित उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

विराटचाेक/  मोरङकाे सुन्दरहरैंचामा रहेको नझरेका फूलहरूको आयोजनामा सञ्चालित सातदिने उद्घोषण तथा भाषणकला तालिम शनिबार सलकपुरस्थित सार्वजनिक पुस्तकालयमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ।

असार १५ गतेदेखि सञ्चालन गरिएको तालिमको सहजीकरण नझरेका फूलहरूका प्रस्तोता तथा प्रशिक्षक केपी घिमिरेले गर्नुभएको थियो। लामो समयदेखि रेडियोमा कार्यक्रम सञ्चालन, समाचार वाचन तथा उद्घोषणमा सक्रिय रहनुभएका घिमिरेले तालिममार्फत सहभागीहरूलाई स्टेजमा आत्मविश्वासका साथ बोल्न सिकाउनुका साथै शब्द चयन, हाउभाउ र नेतृत्व विकासका महत्वपूर्ण पक्षहरूबारे प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सुसेली एफ.एम.का संयोजक सुरेन्द्रबहादुर थापा रहनुभएको थियो। साथै, सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, सुकुना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलसीप्रसाद रिमाल, र हिमालय अङ्ग्रेजी स्कुलका प्रिन्सिपल कमल खनाललगायतको उपस्थिति रहेको थियो।

“सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने उद्देश्यका साथ यस्ता तालिमहरू निरन्तर सञ्चालन गरिरहने प्रशिक्षक घिमिरेले जानकारी दिनुभयो। सबै सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

साहित्य, कला र संगीतका क्षेत्रमा पनि एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आउनुभएका घिमिरेले विभिन्न कलाकार, कवि, गायक तथा लेखकहरूलाई सम्मान गर्दै आउनुभएको छ।