संखुवासभा : जिल्लाको धर्मदेवी नगरपालिका वडा नं. ५ ले आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ। श्रावण १ गते मङ्गलबारदेखि लाफा चोक मगरगाउँमा रहेको यस नयाँ भवनबाट सेवा शुरु भएको वडाध्यक्ष रामबहादुर मगरले जानकारी दिए।
यसअघि वडा नं. ४ र ५ ले संयुक्त रूपमा याख्खाचोकस्थित वडा नं. ४ को कार्यालयबाट सेवा प्रवाह गर्दै आएका थिए। नयाँ भवन निर्माणसँगै वडा नं. ५ ले अब छुट्टै कार्यालयबाट सेवा दिन सुरु गरेको हो।
वडाध्यक्ष मगरका अनुसार, नवनिर्मित भवनमा वडाध्यक्ष कार्यकक्ष, प्रशासन लगायतका शाखाहरु सञ्चालनका लागि आवश्यक कोठाहरू रहेका छन्। उनले भने, “निकै लामो समयपछि आफ्नै भवनबाट प्रशासनिक लगायतका सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको छ। यसले सेवा प्रवाहलाई धेरै सहज बनाउनेछ।”
भवन निर्माणका लागि चेतबहादुर राना मगर, श्यामु राना मगर र मानबीर राना मगरले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। कुल ३० लाख लागतमा निर्माण गरिएको यस एकतले भवनमा ४ वटा कोठा, शौचालय र बाथरूम रहेका छन्।
यो नयाँ वडा कार्यालय भवनको निर्माणले स्थानीय सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने अपेक्षा लिईएकाे वडा अध्यक्षले बताए ।