फिचर राजनीति समाचार स्थानिय

नेकपा एमाले प्रचार विभाग मोरङले माघ १९ गते विराटचोकमा प्रशिक्षण गर्ने

विराटचोक / नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग जिल्ला कमिटी मोरङको बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ। सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष वान्तवाको अध्यक्षतामा बसेको बैठकले यही माघ १९ गते शनिबार विराटचोकमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ।

सो कार्यक्रममा एमाले केन्द्रीय नेताहरूले प्रशिक्षण दिने छन्। खासगरी जिल्लाका १७ वटै पालिकाका पार्टी अध्यक्ष, सचिव र प्रचार तथा प्रकाशन विभागबाट अनिवार्य सहभागी गराइने विभागका प्रमुख वान्तवाले बताउनुभयो। साथै प्रेस चौतारीका सदस्यलाई समेत यो प्रशिक्षणमा सहभागी गराइने भएको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा अराजक गतिविधि गर्ने, नेता तथा पार्टीविरुद्ध अनावश्यक साइबर हमला गर्ने क्रम नरोकिएकाले यसलाई संगठित प्रतिवाद गर्न, युवा नेतृत्व विकासका लागि आधारहरू निर्माण गर्दै लैजान, नयाँ पुस्तामा पार्टीको सिद्धान्त, दृष्टिकोणका बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम राखिएको विभाग प्रमुख राईले बताउनुभयो।

यस्तै पार्टीले घोषणा गरेको तीन महिने जरा केन्द्रित अभियानलाई सफल बनाउन समेत यो प्रशिक्षण महत्त्वपूर्ण कडीको रूपमा रहने बताइएको छ। नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि जनस्तरमै पुगेर पार्टी निर्माण अभियान सञ्चालन हुनेछ। यो अभियान माघदेखि चैतसम्म सञ्चालन हुँदै छ।

बैठकमा बोल्दै मोरङ जिल्ला अध्यक्ष बाबुराम कार्कीले सदस्यता नवीकरण गर्ने कार्य भइरहेको बताउँदै जिल्ला अधिवेशन चाँडै गर्ने बताउनुभयो। यसैगरी आसन्न प्रेस चौतारी नेपालको केन्द्रीय, प्रदेश र जिल्ला अधिवेशन विराटनगरमा हुने भएकाले यसलाई सफल बनाउन सहयोग गर्ने समेत निर्णय भएको छ।