फिचर राजनीति समाचार स्थानिय

नेकपा एमाले मोरङकाे जिल्ला अधिवेशनका लागि फागुन १० गते सबै पालिकामा प्रतिनिधि छनोट गर्ने 

विराटचोक – नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनका लागि फागुन १० गते एकै दिन जिल्लाभरि प्रतिनिधि छनोट गरिने भएको छ। आगामी फागुन १७, १८ र १९ गते विराटनगरमा जिल्ला अधिवेशन गर्ने मिति तय भएसँगै सबै पालिकाका वडामा एकै दिन प्रतिनिधि छनोट गर्ने निर्णय भएको अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो।

कार्कीका अनुसार सो दिन १७ पालिकाका १५९ वडाबाट प्रतिनिधि छनोट हुनेछन्। प्रचार तथा प्रकाशन विभागको बैठकमा बोल्दै उहाँले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सबै वडामा प्रतिनिधि छनोट गर्ने तालिका रहेको जानकारी दिनुभयो।

अधिवेशनलाई सफल बनाउन गठित १० वटा उपसमितिमध्ये प्रचार तथा प्रकाशन विभाग संयोजक सन्तोष बान्तवाको अध्यक्षतामा पार्टी कार्यालय पञ्चालीमा मंगलबार बसेको बैठकले प्रविधिको प्रयोग गरी अधिवेशनको व्यापक प्रचारप्रसार गर्ने निर्णय गरेको छ।

बैठकले प्रेस चौतारी कोशी प्रदेशको आगामी माघ ३० गते विराटनगरमा हुने दोस्रो प्रदेश अधिवेशन तथा फागुन २५-२७ सम्म विराटनगरमा हुने १० औं केन्द्रीय महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ।

अधिवेशन व्यवस्थापनका लागि विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको छ। नेकपा (एमाले) मोरङ जिल्ला संगठन कमिटीले मूल व्यवस्थापन समितिको भूमिका निर्वाह गर्नेछ। आर्थिक व्यवस्थापन उपसमितिको प्रमुखमा राजन भण्डारी, स्वयंसेवक उपसमितिमा शान्तिकुमारी लिम्बु, मञ्च व्यवस्थापन उपसमितिमा सन्तोष साह र अतिथि सत्कार उपसमितिमा श्रील्पा निराला कार्कीलाई जिम्मेवारी दिइएको छ।

यसैगरी राजनीतिक प्रतिवेदन लेखन उपसमितिमा बाबुराम कार्की, सांगठनिक प्रतिवेदन लेखन र प्रतिनिधि व्यवस्थापन उपसमितिमा रविन थापा, खाद्य तथा आवास व्यवस्थापन उपसमितिमा राधेश्याम कट्टेल र स्वास्थ्य उपसमितिमा मनोज विक्रम शाहलाई जिम्मेवारी दिइएको छ।

बैठकमा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की, सचिव रविन थापा, उपसचिव सोमराज थापालगायतको सहभागिता रहेको थियो।