विराटचाेक: नेपाल स्काउट संयुक्त ट्रेनिङ क्याम्पको आयोजनामा दुई रात तीन दिने टोली नायक तालिम (पेट्रोल लिडर तालिम २०८१) माेरङकाे सुन्दरहरैँचा १ स्थित हरैचा इङ्ग्लिस स्कुलमा सम्पन्न भएको छ। नेपाल स्काउट सुन्दरहरैँचा स्थानीय नगर समितिद्वारा व्यवस्थापन गरिएको उक्त तालिममा कोशी प्रदेशका विभिन्न १७ पालिकाका २८ विद्यालयमा सञ्चालित स्काउट दलबाट १५० टोली नायकहरूको सहभागिता रहेको कार्यक्रमका संयोजक बादल देवानले जानकारी दिनुभयो।
नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, विभिन्न स्थानीय समितिका प्रमुख आयुक्तहरू, विद्यालयका प्रधानाध्यापक, स्थानीय समितिका आयुक्तहरू, स्काउट लिडर तथा मास्टरहरूको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन श्रावण २ गते नेपाल स्काउट राष्ट्रिय समितिका सह प्रमुख आयुक्त श्री किरण गिरीको प्रमुख आतिथ्यतामा भएको थियो। उद्घाटन सत्रमा आयुक्तहरू रवि खनाल, नवल प्रसाद उपाध्याय, कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारी, शैक्षिक पद्धति आयुक्त शिवानी देवान, सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे लगायतको उपस्थिति रहेको थियो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गिरीले यस्ता कार्यक्रमले स्काउट विद्यार्थीहरूमा नेतृत्व क्षमताको वृद्धि हुने र विद्यार्थीहरूलाई निरन्तर कार्यक्रमहरूमा सहभागिता र प्रशिक्षणले स्काउट तर्फको आकर्षणमा समेत वृद्धि हुने र एकरूपता कायम हुन सहयोग पुग्ने बताउनुभयो। त्यसैगरी राष्ट्रिय आयुक्त रवि खनालले संयुक्त ट्रेनिङ क्याम्पले २०७९ सालमा आयोजना गरेको क्याम्पको प्रशंसा गर्दै सोहीको निरन्तरताको रूपमा टोली नायक तालिम आयोजना भएकोले यसले नयाँ उदाहरण प्रस्तुत गरेको बताउँदै यस्तो प्रशिक्षणले स्काउटमा पछिल्लो समयमा भएको संख्यात्मक वृद्धिलाई गुणात्मक वृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो।
हरैँचा मोडल इङ्ग्लिस स्कुलका प्रिन्सिपल रुद्र थापाले विद्यालयमा कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै स्काउटले विद्यार्थीहरूलाई समाजमा घुलमिल हुन र सहयोग गर्न सिकाउने बताउनुभयो। उहाँले स्काउटले विद्यार्थीलाई अनुशासन र सामाजिक कार्यसँगै संस्कार शिक्षामा समेत जोड दिएर भविष्यका योग्य नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
तालिममा स्काउट विद्यार्थीहरूलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धी विभिन्न विषयमा प्रशिक्षित गरिएको महिला तर्फको कोर्स लिडर एवं नेपाल स्काउट कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले बताउनुभयो। सहभागीहरूलाई शुरुमा र तालिमको अन्त्यमा परीक्षा लिइएको थियो। दुवै परीक्षामा सहभागीहरूको अंकमा ठूलो परिवर्तन आएकोले तालिमको प्रभावकारिता पुष्टि भएको पुरुष तर्फका कोर्स लिडर मोतिराम ढुंगानाले बताउनुभयो।
तालिममा सहभागी मध्ये सर्वोत्कृष्ट छात्र तर्फ कानेपोखरी स्थित माउन्ट हर्मन स्काउट दलका तान्सुहाङ लिम्बु र छात्रा तर्फ इटहरी स्थित बालविकास स्काउट दलकी एलिना लिम्बु पुरस्कृत भएका थिए।
कार्यक्रमका संयोजक बादल देवानले कार्यक्रममा धेरै विद्यालयको उत्साहजनक सहभागिता, विद्यार्थीहरूले तीन दिनसम्म प्रशिक्षणमा देखाएको कौतुहलता र प्रशिक्षकहरूको लगनशीलताले कार्यक्रम भव्यरूपमा सफल भएको निष्कर्ष निकालेको बताउनुभयो। उहाँले सहभागीहरूलाई यहाँ सिकेका विषय विद्यालयको स्काउट दल, व्यक्तिगत तथा समाजको हितमा प्रयोग गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा २२ जना प्रशिक्षक, १८ जना सहयोगी क्रु सदस्य र १० जना व्यवस्थापनमा संलग्न रहेको संयोजक देवानले बताउनुभयो। उहाँले आगामी फागुनमा संयुक्त ट्रेनिङ क्याम्प २०८१ आयोजना हुन लागेको र उक्त क्याम्पमा प्रदेशका १०० भन्दा बढी स्काउट दलका पाँच हजार स्काउटहरूको उपस्थितिको तयारी गर्ने समेत बताउनुभयो।