कृषि-बातावरण समाचार

नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् । गतबर्ष काभ्रेको पनौतिमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पट सँग मिल्दोजुल्दो देखिए पनि सङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो ।

हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ । नार्क अन्तरगतको राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खडकाले किसानबाट गोलभेडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए ।

‘सुरुमा किसानहरुले व्याक्टेरिया भनेर बिषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौ’ बैज्ञानिक खडकाले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं । त्यसपछि डिएनए परीक्षण गरेर पिसिआर गर्यौं । त्यसपछि हङकङमा सिक्वेन्सिङ गरेर थप प्रमाणित गर्ने काम गर्यौ ।’

हामीले अनुसन्धान गर्दा टार्गेट स्पोट रोग पता लागेको र त्यसका लागि म्यान्कोजेब र कपर अक्सिक्लोराइड ढुसीनासक बिषादी त्यसमा प्रयोग गर्न सिफारिस गरेको उनले बताए । यसमा थप अनुसन्धान जारी नै रहेको उनले बताए ।

यो रोगबाट बचाउन बिरुवा देखि बिरुवा सम्मको दुरी प्रशस्त राख्ने, नियमित झारपात हटाउने, बिरुवाको काँटछाँट गरी सरसफाइ गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने र फोहोरा सिँचाइ नगर्ने गर्दा रोगको प्रकोप घटाउन सकिने डा. खडकाले जनाएका छन् ।

राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज बैद्यले यस्तै रोग गोलभेडामा पहिले पनि छिटपुट देखिने गरेको तर अरु रोगसँग मिल्दाजुल्दा लक्षणका कारण किटान गर्न नसकिएको बताए । हाल आएर किसानले गुनासो गरेपछि गहिरो अनुसन्धान गर्दा नयाँ रोग फेला परेको बैद्यले बताए ।

उक्त केन्द्रका अनुसार यो रोग आद्र्र मौसममा बढी देखिन्छ । यो रोग लागेमा पातमा स–साना खैरा थोप्ला देखिन्छन् र बढदै जान्छन् । यस्ता थोप्लाहरु पातको मुख्य नसा वरिपरि बढी देखिन्छन् । यो रोगको लक्षण प्रायः तलका, पुराना र भित्र पट्टिका पातहरूबाट सुरु हुन्छ र बिस्तारै रोगले डाँठ र फलमा पनि सङ्क्रमण गर्ने गर्छ । सङ्क्रमण बढी भएको अवस्थामा पात र डाँठ जोड्ने भागमा खैरो घेरा बन्छ । साभार कीषि ज्ञान केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *