कोशी प्रदेश जीवनशैली फिचर विचार विचार शिक्षा समाचार स्थानिय

नेपालमा सामाजिक सञ्जालमा फेक न्यूज र भ्रामक सूचनाको समस्या 

“अहिले भर्खरै  भएको खबर!”, “ब्रेकिङ न्यूज!, देख्ने बित्तिकै लाइक र  शेयर गर्नुहोस्!” यस्ता क्याप्सन भएका समाचारहरू फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रशस्तै देख्न पाइन्छन्।

तपाईंले फेसबुक वा टिकटकमा कुनै चकित बनाउने खबर पढ्नुभयो र झट्टै आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुभयो। केही घण्टापछि मात्र थाहा  भयो  कि त्यो खबर झूठो रहेछ। यस्तो अवस्था नेपालमा सामान्य बन्दै गएको छ, जहाँ सामाजिक सञ्जाल तीव्र गतिमा फैलिरहेको छ र त्यससँगै फेक न्यूज र भ्रमपूर्ण सूचनाको समस्या पनि बढ्दो छ। 

सामाजिक सञ्जालले मानिसहरूलाई छिटो जानकारी दिन र एक आपसमा जोडिन मद्दत गरिरहेको छ, तर यसले सँगसँगै  झूठ, भ्रम र डर पनि फैलाइरहेको छ। फेक न्यूज र डिसइनफरमेसन नेपालकाे डिजिटल दुनियाँमा गम्भीर समस्या बन्न पुगेका छन्। यिनले जनतालाई भ्रममा पार्छन्, व्यक्तित्व नष्ट गर्छन्, डर फैलाउँछन्, र वास्तविक पत्रकारितामा जनविश्वास घटाउनुका साथै पत्रकारिताको नैतिकतामा समेत प्रश्न चिन्ह खडा गर्दछन्। 

फेक न्यूज भन्नाले त्यो जानकारीलाई जनाइन्छ जुन गलत वा भ्रमपूर्ण हुन्छ, तर वास्तविक खबर जस्तो देखिन्छ। त्यस्तो जानकारी तस्बिर, भिडियो, लेख, वा केवल सानो सन्देश पनि हुन सक्छ। यस्ता खालका सामग्री  विशेषगरी सामाजिक सञ्जालमार्फत तीव्र रूपमा फैलिन्छन् र धेरैपटक मानिसहरूले त्यसलाई साँचो ठान्छन्, किनभने हेर्दा वा पढ्दाखेरि वास्तविक जस्तो देखिन्छ वा भावनात्मक हुन्छ।

 डिसइनफरमेसन भनेको अलिक गम्भीर हुन्छ। यो त्यस्तो गलत सूचना हो जुन जानाजान अरूको सोच वा व्यवहारलाई प्रभाव पार्नका लागि फैलाइन्छ। जस्तै, चुनावको समयमा कसैले कुनै नेतालाई बदनाम गर्न बनाएको नक्कली भिडियो फैलाउनु। फेक न्यूज र डिसइनफरमेसन दुवै खतरनाक हुन्। यी केवल सामान्य हल्ला होइनन्, यी त्यस्ता शक्तिशाली उपकरण हुन् जसले मानिसहरूको सोच, व्यवहार र मतदान निर्णयसम्म बदल्न सक्छन्।

नेपालमा यो समस्या तीव्र गतिमा बढिरहेको छ, त्यसका केही मुख्य कारण छन्। एउटा मुख्य कारण हो इन्टरनेट पहुँच सजिलो र सस्तो हुनु । प्रायः सबैसँग स्मार्टफोन छ र उनीहरूले फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता एप प्रयोग गर्छन्। तर धेरै प्रयोगकर्ताहरूले कुन सूचना साँचो हो र कुन झूठो भन्ने छुट्याउन जान्दैनन्। उनीहरू स्रोत नहेरी खबर हेर्ने पढ्ने र त्यसमा विश्वास  गर्ने गर्दछन्। यसको मुख्य कारण धेरै नेपालीहरूले मिडिया शिक्षा औपचारिक रूपमा लिएका छैनन्, जसले गर्दा उनीहरू क्लिकबेट शीर्षक वा सम्पादित भिडियोहरू चिन्न सक्दैनन्। नेपालमा राजनीतिक समूहहरूले कहिलेकाहीं आफ्ना विपक्षीलाई आक्रमण गर्न डिसइनफरमेसनको प्रयोग गर्छन्। 

यो समस्या चुनावको समयमा झन् तीव्र हुन्छ। कडा कानुन र निगरानी प्रणालीको कमी अर्को कारण हो। सत्यताको चिन्ता नगरी मानिसहरूले इन्टरनेटमा जे पनि पोष्ट गर्न पाउँछन् । साथै, केही कन्टेन्ट क्रिएटरहरू केवल लाइक, भ्यूज र सब्सक्राइबर बढाउनका लागि नक्कली वा भावनात्मक कथा बनाउँछन्। उनीहरूले क्लिकबाट पैसा कमाउँछन्, त्यसैले उनीहरूले नाटकीय शीर्षक र झूठा दावी प्रयोग गर्छन्।

नेपालमा फेक न्यूज तीव्र गतिमा फैलिन्छ। फेसबुक यस्तो प्लेटफर्म हो जहाँ झूठो पोस्टहरू छिट्टै भाइरल हुन्छन्। कुनै राजनीतिक विषय, सेलिब्रिटी वा स्थानीय घटनासम्बन्धी नक्कली पोस्टहरू मिनेटभरमै हजारौँपटक शेयर हुन्छन्। टिकटकमा गलत स्वास्थ्य सल्लाहसहितका भिडियो वा सार्वजनिक भाषणका सम्पादित क्लिपहरू पनि व्यापक रूपमा फैलिन्छन्। युट्युबमा झूठा समाचार भिडियोहरू पोस्ट गरिन्छन्, जुन देख्नमा साँच्चिकै समाचार कार्यक्रम जस्तै लाग्छ। केही प्रयोगकर्ताहरू सूट लगाएर माइक अगाडि बसेर प्रोफेसनल पत्रकार जस्तै देखिने प्रयास गर्छन्। मानिसहरूले यस्तो सामग्री व्हाट्सएप वा मेसेन्जरमार्फत सत्यता पुष्टि नगरी एकअर्कालाई पठाउँछन्। जब सरकार वा वास्तविक मिडियाले प्रस्ट जानकारी दिन ढिला गर्छ, त्यही बेलामा हल्लाले ठाउँ लिन्छ।

नेपालमा फेक न्यूज र डिसइनफरमेसनको प्रभाव अत्यन्तै गम्भीर र हानिकारक छ। पहिलो कुरा, यसले जनतालाई भ्रमित बनाउँछ। विभिन्न स्रोतबाट मिसिएको सन्देश पाएपछि मानिसहरूले के विश्वास गर्ने थाहा पाउँदैनन्। यसले डर र शंका उत्पन्न गर्छ। दोस्रो कुरा, फेक न्यूजले व्यक्ति वा संस्थाको छवि नष्ट गर्न सक्छ। एउटा झूठो कुरा, एकचोटि भाइरल भएपछि, पछि सत्य आए पनि मान्छेले त्यही झूठ सम्झन्छन्। तेस्रो कुरा, फेक न्यूजले सामाजिक समस्या निम्त्याउन सक्छ। यसले जात, धर्म वा समुदायबीच द्वेष फैलाउन सक्छ। कहिलेकाहीँ यसले हिंसासमेत निम्त्याउँछ। यो अर्को गम्भीर असर हो, सत्य तथ्य समाचारहरूप्रति पनि मानिसहरूको विश्वास हराउँदै जान्छ। जब मानिसहरूले इन्टरनेटमा धेरै झूठ देख्छन्, तब उनीहरूले वास्तविक र प्रमाणित खबरमाथि पनि विश्वास गर्न छोड्छन्।

 यो लोकतन्त्रका लागि  पनि निकै खतरनाक हो, किनभने लोकतन्त्र सूसुचित नागरिकमा आधारित हुन्छ। अन्ततः, डिसइनफरमेसनले राजनीतिलाई समेत प्रभावित पार्दछ। चुनावको समयमा यसले मतदातालाई धोका दिन्छ र परिणाम अनुचित रूपमा परिवर्तन गर्न सक्छ।

नेपालमा यस्ता उदाहरणहरू हामीले पहिले नै धेरै देखेका छौँ। कोभिड-१९ को महामारीको समयमा थुप्रै फेक न्यूजहरू भाइरल भए। केही पोस्टहरूले तातो पानी पिउँदा वा लसुन खाँदा कोरोना निको हुने भने, केहीले खोप खतरनाक छ भने। यी झूठा सूचनाले मानिसहरूलाई आफूलाई सुरक्षित राख्नका लागि आवश्यक कदम चाल्नबाट रोके।

 हामीले नेपाली कलाकारको मृत्युबारे झूठा समाचार पनि देखेका छौँ। धेरैले यस्ता पोस्टहरूमा विश्वास गर्छन् जसमा चर्चित कलाकार, राजनीतिज्ञहरू बितिसकेका छन् भनेर समाचार बनाइएको हुन्छ।, तर पछि ती व्यक्ति आफैँ अनलाइन आएर भन्छन्, “म त जिउँदै छु।” चुनावको समयमा धेरै नक्कली भिडियो र सम्पादित भाषणहरू सामाजिक सञ्जालमा भाइरल भएका हुन्छन्, जसले नेताहरूलाई बदनाम गर्दछन्। 

साना भूकम्पपछि ठूला भूकम्प आउने भन्दै झूठा पोस्टहरू भाइरल हुने गर्दछन्, जसले अनावश्यक डर फैलाउँछन् । यी यी उदाहरणहरूबाट बुझ्न सकिन्छ कि  फेक न्यूज केवल मजाक होइन, यसका गम्भीर परिणामहरू छन्।

फेक न्यूज र डिसइनफरमेसन नियन्त्रण गर्न नेपालमा केही कानुनी र संवैधानिक व्यवस्था छन्। नेपालको संविधान २०७२ को धारा १७ मा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरिएको छ, तर त्यसमा अरूको इज्जत, प्रतिष्ठा वा अधिकारमा हानि पुग्न नहुने स्पष्ट उल्लेख छ। धारा १९ मा सञ्चारको हकको ग्यारेन्टी गरिएको छ, तर झूठो सूचना फैलाउने गरी यसको दुरुपयोग गर्न नपाइने प्रावधान पनि छ। यस्तै, सूचना प्रविधि ऐन २०६३ संशोधन (२०७६ ) मा पनि इन्टरनेटमा झूठो वा आपत्तिजनक सामग्री पोष्ट गरेमा कारबाहीको प्रावधान छ।

 ऐनको दफा ४७ अनुसार, सार्वजनिक नैतिकताविरुद्ध जाने, द्वेष फैलाउने वा अवैध सामग्री प्रकाशित गरेमा जरिवाना वा कैद सजाय हुन सक्छ। हालै, मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयक ल्याउने तयारीमा पनि छलफल हुँदैछ, जसमा गलत सूचना र अनलाइन दुरुपयोग नियन्त्रण गर्न व्यवस्था प्रस्ताव गरिएको छ। तर, धेरै मिडिया विज्ञ र अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् कि यस्ता कानुन अत्यधिक कडा भएमा प्रेस स्वतन्त्रता नै कुन्ठित हुन सक्छ।

 त्यसैले, झूठा समाचार नियन्त्रण र अभिव्यक्ति स्वतन्त्रता जोगाउने सन्तुलन कायम गर्नु अत्यन्त आवश्यक छ।

यो समस्याका लागि जिम्मेवार को हो त? केवल झूठा सामग्री बनाउने मानिस मात्र होइन। सोचविचार नगरी शेयर गर्ने मानिस पनि जिम्मेवार हुन्। भ्युजका लागि झूठ बोल्ने युट्युबर र पेज एड्मिनहरू पनि दोषी छन्। सरकार र सुरक्षाकर्मीहरू जसले कडा नियम बनाएका छैनन्  वा लागू गरेका छैनन्, उनीहरूको भूमिका पनि महत्वपूर्ण छ।

 पत्रकारिताको आचारसंहिताको पालना नगर्ने मिडिया संस्थाहरू पनि जिम्मेवार छन्। सबैभन्दा महत्वपूर्ण कुरा, धेरै मानिसहरूलाई सत्य र झूठ छुट्याउने तरिका नै थाहा छैन। त्यसैले हामी सबैले यो प्रवृत्तिलाई रोक्नको लागि जिम्मेवारी लिनु आवश्यक छ।

फेक न्यूज र डिसइनफरमेसनविरुद्ध लड्नका लागि हामीले गर्न सक्ने धेरै कुरा छन्। पहिलो, मिडिया र डिजिटल साक्षरतालाई प्रवर्द्धन गर्नुपर्छ। विद्यालय र कलेजहरूमा विद्यार्थीलाई समाचार स्रोत कसरी जाँच गर्ने, तथ्य कसरी पुष्टि गर्ने, र मिडियाका चालबाजीहरू कसरी चिन्न सकिन्छ भन्ने कुरा सिकाइनुपर्छ। जब मानिसहरूले पढेको वा देखेको कुरा शंकासहित हेर्न सिक्छन्, तब उनीहरूले इन्टरनेटमा उपलब्ध हरेक कुरामा विश्वास गर्न छोड्छन्। दोस्रो, नेपालमा साउथ एसिया चेक , नेपाल फ्याक्ट चेक, र मिडिया एक्सन नेपालजस्ता तथ्य जाँच गर्ने संस्थाहरूलाई समर्थन गर्नुपर्छ।

 प्रेस काउन्सिल नेपालजस्ता नियामक निकायहरूले राजनीतिक प्रभावबिना प्रभावकारी रूपमा काम गर्नुपर्छ। यी समूहहरू गलत समाचार छुट्याउने र सत्य स्पष्ट गर्ने काम गरिरहेका छन्, तर उनीहरूलाई अझ बढी समर्थन आवश्यक छ। तेस्रो, सरकारले झूठ फैलाउने व्यक्तिहरू वा समूहमाथि कडा कारबाही गर्न स्पष्ट र कार्यान्वयनयोग्य कानुन बनाउनु पर्छ। साथै, हानिकारक सामग्री रिपोर्ट गर्ने सहज प्रणाली पनि हुनुपर्छ।

मिडिया संस्थाहरू र अनलाइन सामग्री निर्माता स्वयं पनि जिम्मेवार बन्नुपर्छ। उनीहरूले आधारभूत पत्रकारिता आचारसंहिताको पालना गर्नुपर्छ तथ्य पुष्टि गर्नु, दुबै पक्षको कथा देखाउनु, र पुष्टि नभएका कुराहरू नफैलाउनु। केवल भ्युज आउँछ भनेर जे पनि पोष्ट गर्नु हुँदैन। फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जाल कम्पनीहरूले पनि सहयोग गर्नुपर्छ। उनीहरूले नेपालका स्थानीय विज्ञहरूसँग मिलेर झूठो सामग्री छिट्टै छुट्याउने र त्यसलाई हटाउने काम गर्नुपर्छ। अन्ततः, हरेक व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ।  केही पनि शेयर गर्नु अघि, हामीले रोकिएर सोच्नुपर्छ : “के यो सत्य हो?”, “यो खबर कहाँबाट आएको हो?”, “के म यो खबर कुनै विश्वसनीय वेबसाइटमा भेट्न सक्छु?” यदि उत्तर ‘होइन’ भने, त्यसलाई शेयर गर्नु हुँदैन।

अन्त्यमा, सामाजिक सञ्जाल एक शक्तिशाली माध्यम हो। यसले हामीलाई स्वतन्त्र रूपमा बोल्न, छिटो जानकारी पाउन र एक अर्कासँग जोडिन मद्दत गर्छ। तर यसले झूठलाई पनि आगोझैं फैलिनने मौका दिन्छ। नेपालमा फेक न्यूज र डिसइनफरमेसनले जनविश्वास बिगारिरहेको छ, समुदायहरूबीच फुट ल्याइरहेको छ, र लोकतन्त्रलाई जोखिममा पारिरहेको छ। 

हामी सबैले अझै चतुर, जिम्मेवार र सूचित हुन आवश्यक छ। केवल संगीत र भावनात्मक शीर्षकले भरिएको सामग्री देखेर झूठमा नफसौं। हामी समस्या होइन, समाधान बनौं।