कोशी प्रदेश फिचर समाचार स्थानिय

नेपाल मानव अधिकार संगठन मोरङको नयाँ कार्यसमिति गठन

विराटचोक: नेपाल मानव अधिकार संगठन मोरङ जिल्लाको नयाँ कार्यसमिति गठन भएको छ। सोमबार मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो। लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना बहुमुखी क्याम्पसकाे सह-प्राध्यापक हुन् ।

नवगठित कार्यसमितिकाे उपसभापतिमा शुनिलदत्त अधिकारी, सचिवमा पराग ढुंगाना, सहसचिवमा राजेश कार्की र कोषाध्यक्षमा उर्मिला शर्मा रिजाल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, लोकप्रकाश भट्टराई (जीवन), कुमार खुलाल बस्नेत, गोविन्द बस्नेत, विनोद फुयाल र योगेन्द्र काफ्ले रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि मानव अधिकार संगठन केन्द्रीय उपाध्यक्ष डा. के.पी. सुवेदीले नवनिर्वाचित समितिलाई बधाई दिँदै समाजमा सुशासनको प्रत्याभूति दिन, घटना न्यूनीकरण गर्न र मानव अधिकार हननका विरुद्ध आवाज उठाउन सक्रिय हुनुपर्ने बताउनुभयो। कार्यक्रमको संयोजन कोशी प्रदेश समिति सहसंयोजक जयबहादुर श्रेष्ठले गर्नुभएको थियो।

२०४५ सालमा स्थापना भएको यो संगठनले मानव अधिकारको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा झापा जिल्ला सभापति दिनेशकुमार न्यौपानेको पनि उपस्थिति रहेको थियो।