फिचर समाचार स्थानिय

पहिलाे पटक वडा वाटै योजनाको सम्झौता , स्थानीय वासी खुशी

लेटाङ,८ अशाेज / लेटाङ नगरपालिका वडा नम्बर १ मा वडास्तरीय ११ वटा योजनाहरुको सम्झौता सम्पन्न भएको छ। १ नम्बर वडा कार्यालय साग्मामा नगरपालिका र उपभोक्ता समितिबिच यो सम्झौता गरिएको हो।

नगरपालिकाले उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुलाई सहज, सरल र नजिकबाट सेवा प्रवाह गर्न वडास्तरमै गएर सम्झौता गर्ने नीति लिएको छ। यसका साथै योजना कार्यान्वयनलाई सहज बनाउन उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको छ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लेटाङका प्रबन्धकले उपभोक्ता समितिको बैंक खाता खोल्ने तथा बैंकिङ प्रक्रियाका विषयमा अभिमुखीकरण गराउनुभएको थियो। अधिकांश सहभागीले नगरपालिका धाउनु पर्ने अवस्थाबाट वडाबाटै बैंक सहितको सहभागितामा अभिमुखीकरणले योजना सञ्चालनमा सहज हुने धारणा राखेका छन्।

कार्यक्रम १ नम्बर वडाध्यक्ष श्री विष्णु कुमार मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यपालिका सदस्य गीता मगर र वडा सदस्यहरुको उपस्थितिमा नगरपालिकाबाट विभिन्न विभागका अधिकारीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा ११ वटा उपभोक्ता समितिका ३३ जना पदाधिकारीको सहभागिता रहेको थियो। १ नम्बर वडा अध्यक्षले वडाका योजनाहरु समयभित्र र गुणस्तरीय बनाउनका साथै सेवा प्रवाह सुधार गर्न वडास्तरीय योजना सम्झौता र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

यसै बीच, वडामै योजना सम्झौता हुने भएपछि स्थानीय वासीले खुशी व्यक्त गरेका छन्। अरु बेला लेटाङ नगरपालिकामै सम्झौता गर्न आउनुपर्ने बाध्यता थियो। अब २० किलोमिटर विकट गाउँबाट नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। यो लेटाङ नगरपालिकाले पहिलो पटक अभ्यास गरेको कार्यक्रम हो, जसले स्थानीय वासीलाई ठूलो राहत दिएको छ।