विराटचोक: सामुदायिक विकास मञ्च नेपाल (सिडिएफ) द्वारा अन्तरधार्मिक शान्ति प्रवचन कार्यक्रम सम्पन्न भएको छ। मंगलबार मोरङको लेटाङमा आयोजित कार्यक्रममा हिन्दु, किराँत, बौद्ध, इस्लाम र इसाई धर्मका गुरुहरूले प्रवचन गर्नुभएको थियो।
विश्व शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष राम चन्द्र बुढाथोकीले बताउनुभयो।

कार्यक्रममा हिन्दु धर्मका गुरु हरिप्रसाद काफ्लेले वेद र पुराणमा लेखिएका श्लोक र तिनको भावलाई प्रस्तुत गर्दै प्रवचन गर्नुभएको थियो। उहाँले पहिला सती प्रथा जस्तो कुरीति संस्कार रहेकोमा त्यो हटेको बताउनुभयो।
किराँत धर्मका विषयमा धर्म गुरु रामभक्त कुरुङ्वाङले मुन्धुम, किराँत धर्मका गुरुका भनाइसहित विभिन्न लिखित दस्तावेजका आधारमा बोल्ने क्रममा एकले अर्को धर्म समुदायबीच सद्भाव कायम राखेर कसैको अहित नगरी पवित्र रूपमा समुदाय एक भएर अघि बढ्न किराँत धर्मको मार्ग रहेको उल्लेख गर्नुभयो।

बौद्ध धर्मका लामा मणि मोक्तानले शान्तिका क्षेत्रमा गौतम बुद्धले तपस्या गरेको हुँदा धर्मको अनुसरण गर्नुपर्ने बताउनुभयो। सबै प्राणी जगतप्रति करुणा खुल्नुपर्ने, त्यो नखुलेकाले अहिले समाजमा छिटफुट रूपमा अशान्ति निम्तिने गरेको बताउँदै सबै मिलेर शान्तिलाई अझ मजबुत बनाउन लागिरहेको बताउनुभयो।

इसाई धर्मका एल्डर दिल राईले बाइबलले पनि शान्ति कायम गर्ने नैतिकता सिकाउने बताउनुभयो। हजारौं वर्ष अघि लेखिएका कुराहरू अहिले वैज्ञानिक रूपमा सत्य भएको पनि उहाँले बताउनुभयो।

इस्लाम धर्मका विषयमा अजिम अन्सारीले कुरान धेरै कट्टर धर्म भएको भन्दै यसलाई सबै इस्लामले मान्नैपर्ने बताउनुभयो। यसभित्र पनि नारीका अधिकारका विषयमा लेखिएको बताउनुभयो। इस्लाम शब्दको अर्थ नै शान्ति रहेको बताउनुभयो।

कार्यक्रममा धर्मग्रन्थ: वेद, त्रिपिटक, कुरान, बाइबल, मुन्धुममा लेखिएका कुरालाई नै आधार बनाएर धर्मगुरुहरूले समाजमा शान्ति कायम गर्न के कस्ता प्रावधान छन् भन्ने विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रममा सिडिएफ नेपालको इतिहास र शान्तिका क्षेत्रमा भएका कामका विषयमा नगरप्रमुख भुपेन्द्र कुमार लावतीले आफ्नो प्रस्तुति राख्नुभएको थियो। उहाँले विगतलाई सम्झिँदै अशान्तिको समयमा समाजलाई शान्ति कायम गर्न यो कार्यक्रम धेरै महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले अहिले समाजमा देखापरेको दुर्व्यसनी, परिवारमा हुने बेमेल, झैझगडा र अशान्तिलाई यस्ता कार्यक्रमले रोक्ने समेत बताउनुभयो।

संस्थागत विकास सञ्जाल, ललितपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ब्रेट फर द वर्ल्ड, जर्मनीको आर्थिक सहयोग रहेको थियो ।