कोशी प्रदेश फिचर समाचार स्थानिय

पारिश्रमिक बहुउद्देश्यीयकाे अध्यक्षमा पुन: आचार्य चयन

विराटचोक: मोरङको सुन्दरहरैँचा-१० मा रहेको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आगामी चार वर्षे कार्यकालका लागि भीमप्रसाद आचार्यलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। पानस पाटी प्यालेसमा आयोजित सभाले १४ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो।

निर्वाचन समितिका अनुसार, संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना र सहसचिवमा रूपादेवी उप्रेती रिजाल निर्वाचित भएका छन्। सदस्यहरूमा कमला खड्का, जमुनादेवी कोइराला, विमला चौहान क्षेत्री, कृष्णप्रसाद भट्टराई, छत्रबहादुर काफ्ले, भीमगोपाल ढकाल र सिर्जना सुवेदी ढकाल चयन भएका छन्।

लेखा समितिमा संयोजक मोहन चौधरी, सदस्यहरू कालीप्रसाद आचार्य र चेतकुमारी पराजुली निर्विरोध निर्वाचित भएका छन्।

सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। उनले संस्थाको १८ वर्षे यात्रामा आर्थिक रूपान्तरण र समाजमा स्थापित संस्थाको रूपमा परिचित हुन सफल भएको बताए। संस्थामा हाल ७ सय ७७ शेयर सदस्य रहेका छन् भने शेयर पुँजी २ करोड ६९ लाख ८० हजार र बचत निक्षेप ७ करोड ७ लाख ५० हजार ६३५ रुपैयाँ रहेको छ।

सभामा बोल्दै प्रमुख अतिथि नगरप्रमुख गुरागाईंले सहकारी भित्र मन मिल्नुपर्छ र सदस्यको सामाजिक, शैक्षिक, सांस्कृतिक विकास भए मात्रै सहकारीको मूल्य मान्यता स्थापित हुने बताए। केही ठाउँमा सहकारी क्षेत्र गनाउन थालेको अवस्थामा छ तर सुन्दरहरैँचाका सहकारीमा हामी डराउनु पर्ने अवस्था नभएको बताउँदै सहकारीका सिद्धान्त अनुरूप काम गर्दै जानुपर्ने बताए। ऋणबाट एउटा सदस्य कत्तिको सफल भएको छ यो विषयमा सञ्चालक समितिले खोजी गर्नुपर्ने सुझाव दिँदै हिजोको भन्दा आर्थिक हैसियत, व्यापार व्यवसाय कत्तिको बढ्यो भन्ने विषय पनि प्रतिवेदनमा उल्लेख गर्न सके अरू सदस्यलाई पनि प्रेरणा मिल्ने मेयर गुरागाईंले बताए।

साधारणसभाको अवसरमा ९ जना ज्येष्ठ सदस्यलाई सम्मानपत्र, दोसल्ला र नगदबाट सम्मान गरिएको छ। यस्तै एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, २ जना उत्कृष्ट बचतकर्ता र २ जना उत्कृष्ट ऋणीलाई समेत सम्मान गरिएको हो। यसैगरी उत्कृष्ट बाल बचतकर्तालाई पनि सम्मान गरिएको छ। साधारणसभामा उपस्थित शेयर सदस्यहरूमध्येबाट चिट्ठा विधिद्वारा उपहार वितरण गरियो। कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, सहकारीकर्मी सञ्चारकर्मी लगायतकाे उपस्थिति थियो ।