फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

पालिकाका सबै सामुदायिक विद्यालयमा तेह्रथुमको साहित्यिक इतिहास पुर्‍याईने

विराटचाेक: आठराई गाउँपालिकाद्वारा “तेह्रथुमकाे साहित्यिक इतिहास” नाम कृति खरिद गरेर पालिकाका सबै सामुदायिक विद्यालयमा पुर्याउने 

माेरङ । आठराई गाउँपालिकाले पत्रकार तथा अनुसन्धाता केशु विरहीद्वारा लिखित तेह्रथुमकाे साहित्यिक इतिहासलाई पालिकाका सबै सामुदायिक विद्यालयमा पुर्याउने भएकाे छ । आठराईमा कृतिकाे गृह जिल्ला लाेकार्पण कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले यस्ताे प्रतिबद्धता जायर गरेका हुन् ।

गाउँपालिका अध्यक्ष पाहिमले कार्यक्रमलाई सम्बाेधन गर्दै भने ‘केशु विरहीले लामाे मेहनतका  साथ तयार पारेकाे याे कृति निकै महत्वपूर्ण र सबैका लागि उपयाेगी पनि रहेकाे छ । इतिहासलाई बचाउन सक्नु पर्छ । हामी पनि इतिहासकाे जगेर्ना गर्ने क्रममा छाैँ । उहाँकाे यस कार्यले हामीलाई थप बल मिलेकाे छ ।

उहाँलाई हाम्राे सधैँ साथ रहने छ । उहाँकाे एकल प्रयासबाट सम्पन्न भए पनि यसमा हाम्राे पूर्ण सहयाेग र साथ रहनेछ । तेह्रथुुमकाे साहित्यिक इतिहास नामक यस कृतिलाई गाउँपालिकाले आफ्नाेतर्फबाट खरिद गरेर पालिकामा रहेका हरेक सामुदायिक वियालयमा कम्तीमा १/१ प्रति पुर्याउने काम गर्नेछ ।’

 साथै अध्यक्ष पाहिमले यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्दै आफ्नाे तर्फबाट यस अनुसन्धान, प्रकाशनका लागि १० हजार आर्थिक सहयाेगसमेत गरेका छन् । 

साहित्य सङ्गम आठराईकाे आयाेजनामा आठराईकाे संक्रान्ति बजारमा रहेकाे गाउँपालिकाकाे सामुदायिक भवनकाे सभाहलमा सम्मन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष वलिराज इङनाम, विभिन्न वडाका अध्यक्षहरू, पालिका अन्तरगतका विभिन्न शाखाका प्रमुखहरू तथा पालिका भित्र रहेका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे । त्यस्तै कार्यक्रममा तेह्रथुम बहुमुखी क्याम्पस, ह्यात्रुङ झरना क्याम्पसका क्याम्पसका साथै साे क्षेत्रमा रहेका सामुदायिक विद्यालयका प्रअ तथा प्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे । 

अग्रिम रूपमा भूकतानी गरेर कृति प्रकाशन भएकाले गर्दा लाेकार्पणमा समेत खरिद गरिए वा अग्रिम भूक्तानी गरिएकै पुस्तक प्रयाेग गरिएका थिए । 

साहित्य सङगम आठराईका अध्यक्ष राजन तिम्सिनाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन भने संस्थाका सचिव मदनराज गुरुङकाे रहेकाे थियाे ।