लेटाङ: नवलपराशीको पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधिहरुको टोलीले लेटाङ नगरपालिकाको मैत्रीपूर्ण भ्रमण गरेको छ । सुनवल साुमदायीक विकास केन्द्रको आयोजना तथा युनाइटेड मिसन टु नेपालको सहयोगमा सामुदायीक संवाद, लैंगिक समानता र शान्ति प्रवर्धनका अभ्यासहरु अवलोकन तथा अनुभव आदन प्रदान कार्यक्रम अन्तरगत लेटाङ नगरपालिकाको कार्यसम्पादन अभ्यास बुझ्ने तथा अनुभव आदन–प्रदान गर्ने उद्देश्यका साथ पाल्हिनन्दन गाउँपालिकाको टोलीले लेटाङ नगरपालिकाको भ्रमण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताको नेतृत्वमा उपाध्यक्ष फातुमा खातुन अन्सारी र वडाध्यक्षहरुसहितको जनप्रतिनिधिको टोलीले लेटाङ नगरपालिकाको भ्रमण गर्ने क्रममा न्यायिक समितिको कृयाकलाप तथा अनुभवनहरुका साथै शान्ति निर्माणका लागि लेटाङमा भएका कामहरुको विषयमा जानकारी लिएको छ । कार्यक्रममा नगर प्रमुख भूपेन्द्र कुमार लावतीले लेटाङमा शान्ति निर्माणका क्षेत्रमा भएका कामहरु तथा लेटाङ १ मा बन्न लागेको अन्तरधार्मिक शान्ति पार्कको विषयमा जानकारी गराउनु भयो भने उपप्रमुख कृष्णकुमारी निरौलाले न्यायिक समितिका गतिविधि र अभ्यासहरुबारे जानकारी गराउनुभयो ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता र उपाध्यक्ष फातुमा खातुन अन्सारीले लेटाङ नगरपालिकाबाट आफूहरुले धेरै कुरा सिकेको भन्दै आफ्नो पालिकामा गएर कार्यान्वयन गर्ने बताउनुभयो । उहाँहरुले आफ्नो गाउँपालिका भ्रमण गर्न लेटाङका जनप्रतिनिधिहरुलाई निम्ता समेत दिनुभयो । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णराज राईले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।