कोशी प्रदेश खेलकुद खेलकुद फिचर समाचार

प्रथम सुकेचौरी नकआउट फुटबल : टाँडीलाई पाखा लगाउँदै बेलबारी सेमीफाइनलमा

प्रथम सुकेचौरी नकआउट फुटबल : टाँडीलाई पाखा लगाउँदै बेलबारी सेमीफाइनलमा

लेटाङ । लेटाङमा जारी प्रथम सुकेचौरी खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन आज भएको रोमाञ्चक खेलमा विजयी हुँदै बेलबारी फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
टाँडी स्पोर्टिङ क्लब मिक्लाजुङलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै बेलबारीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको बेलबारीले पहिलो हाफको सुरुमै गोल गर्दै १–० को अग्रता बनाएकोमा टाँडीले पनि पहिलो हाफको अन्त्य तिर गोल गर्दै खेललाई बराबरीमा ल्यायो ।
यसैगरि बेलबारीले दोस्रो हाफको सुरुमै थप एक गोल गर्दै २–१ को अग्रता लिएपनि टाँडीले पुन बराबरी गोल फर्कायो । जसका कारण निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।

ट्राइबेकरमा बेलबारीका खेलाडीहरूले ३ गोल गर्न सफल भए भने टाँडीका खेलाडीहरूले १ गोल मात्र गर्न सके । अन्तत बेलबारी ट्राइबेकरमा ३–१ ले विजयी हुँदै सेमीफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तगत भोलि शुक्रबारको खेल व्रदर्श एफसी र टीएफसी एफसी बीच हुनेछ ।
स्थानीय सुकेचौरी खेल मैदानमा जारी प्रतियोगिताले फुटबलप्रेमी दर्शकमाझ उत्साह र आकर्षण बढाएको आयोजकले जनाएको छ ।