कोशी प्रदेश शिक्षा समाचार स्थानिय

प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव : मुख्यमन्त्री कार्कीले गरे उदघाटन

माेरङ सुन्दरहरैँचा नगरपालिकाको आयोजनामा ज्ञान र सिपको उत्सव सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सोमबारदेखि सुरू भएको छ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई व्यवहारिक, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले विद्यालय तहदेखि नै ज्ञानसँगै सिपको विकास आवश्यक रहेको उल्लेख गर्दै महोत्सवले विद्यार्थीमा नवप्रवर्तन र सिर्जनशीलता बढाउने विश्वास व्यक्त गरे ।

नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको महोत्सवमा नगरभित्रका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थीको सहभागिता रहने जनाइएको छ। साथै अभिभावक, विद्यार्थी, स्थानीयवासी तथा अन्तरपालिकाबाट समेत गरी करिब १ लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रदर्शनी हरेक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ।

मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यले पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको जानकारी दिए। उनका अनुसार यस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुति क्षमता र सिर्जनशीलताको विकासमा टेवा पुग्नेछ।

महोत्सव विराटचोक औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको छ। कार्यक्रममा भाषा तथा साहित्य, गणित तथा तर्कशक्ति, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा नागरिक शिक्षा, वातावरण, स्वास्थ्य र पोषण, प्रारम्भिक बाल विकास (ईसीडी), उद्यम, कला, व्यवस्थापन तथा व्यावसायिक सिपसम्बन्धी विविध विषयगत प्रदर्शनीहरू राखिएका छन्। साथै विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूसँग प्यानल छलफल तथा विद्यार्थीका जातीय–सांस्कृतिक झाँकी प्रदर्शन पनि समावेश गरिएको छ।

कार्यक्रममा नगर प्रवक्ता रोशनप्रसाद ढकाल, उपमेयर अकली चौधरी तथा बेलबारी नगरपालिकाका नगर प्रमुख डी.पी. राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षासेवी अर्जुन बस्नेतबाट भएको थियाे ।
नगरपालिकाले आयोजना गरेको यस महोत्सवले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा कायम गर्दै शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ ।