सुन्दरहरैँचा नगरपालिकाद्वारा आयोजित प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त महोत्सव तीन दिनसम्म सञ्चालन भएको थियो। समापन समारोहमा नगर उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राख्दै महोत्सवले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। कार्यक्रमको सञ्चालन महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबन्धु थापाले गरेका थिए। कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो।
महोत्सवको अवसरमा नगर शिक्षा योजना निर्माण कार्यशालासम्बन्धी छलफल तथा गोष्ठीसमेत आयोजना गरिएको थियो। विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्यसहित विविध सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो।
नगरभित्रका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थीको सहभागिता रहेको जनाइएको छ भने अभिभावक, स्थानीयवासी तथा अन्तरपालिकाबाट समेत गरी करिब १ लाख ५० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ। प्रदर्शनी प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको थियो।
मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराई व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यले पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको जानकारी दिए। उनका अनुसार यस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुति क्षमता तथा सिर्जनशीलताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
महोत्सव विराटचोक औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको थियो। कार्यक्रममा भाषा तथा साहित्य, गणित तथा तर्कशक्ति, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा नागरिक शिक्षा, वातावरण, स्वास्थ्य तथा पोषण, प्रारम्भिक बाल विकास (ईसीडी), उद्यम, कला, व्यवस्थापन तथा व्यावसायिक सीपसम्बन्धी विविध विषयगत प्रदर्शनीहरू राखिएका थिए। साथै विभिन्न क्षेत्रमा सफल व्यक्तिहरूसँग प्यानल छलफल तथा विद्यार्थीका जातीय–सांस्कृतिक झाँकी प्रदर्शनसमेत समावेश गरिएको थियो ।




