विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
सरकारको गतिविधि र काम कारवाहीको विषयमा नियमित जानकारी गराउनका लागि मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङको निवास पुगेर भेटवार्ता गरेका हुन् ।उनीहरूबीच लगानी सम्मेलन, चिया सम्मेलन र पर्यटन वर्ष २०८२ का विषयमा कुराकानी भएको छ ।
प्रदेश सरकारको विकास निर्माणका गतिविधि, सरकारले गरिरहेको काम र सुशासनका विषयमा छलफल भएको थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख खापुङलाई आगामी प्रदेश सभाको अधिवेशन र अधिवेशनको तयारीको विषयमा समेत जानकारी गराएका छन् । प्रदेशको विकास निर्माण, बजेट खर्चको अवस्था लगायतको विषयमा चासो राख्दै प्रदेश प्रमुख खापुङ जानकारी लिएका थिए ।
प्रदेश सरकारले बैशाख लगानी सम्मेलन, जेठमा चिया सम्मेलन र २०८२ साललाई पर्यटन वर्षको रूपमा मनाउनेगरी तयारी गरिरहेको छ ।प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुखलाई सरकारका गतिविधि र समसामयिक विषयमा मुख्यमन्त्रीले जानकारी गराउँदै आएका छन् ।