विराटचाेक माेरङकाे बेलबारीमा रहेकाे इलाका प्रहरी कार्यालय बेलबारीको आवास भवन तथा भन्साघर निर्माण कार्य सम्पन्न भएको छ । बेलबारी , सुन्दरहरैँचा नगरपालिका, केराबारी र ग्रामथान गाउँपालिकाको आर्थिक सहयोग उक्त आवास भवन तथा भन्साघर निर्माण भएको हो ।
बुधवार बेलबारी नगरपालिका वडा नं १ मा रहेको इलाका प्रहरी कार्यालय बेलबारीको परिसरमा नवनिर्मित आवास भवन तथा भन्साघरको एक समारोह विच उद्घाटन गरिएकाे छ । नवनिर्मित आवास भवन तथा भन्साघरको प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ र बेलबारीका नगर प्रमुख दिल प्रसाद राईबाट संयुक्त रूपमा उद्घाटन भएको हो ।
भवन निर्माणको लागि बेलबारी नगरपालिकाले १५ लाख र सुन्दरहरैचा नगरपालिकाले १५ लाख, केराबारी गाउँपालिकाले ८ लाख, ग्रामथान गाउँपालिकाले ७ लाख ५० हजार आर्थिक सहयोग गरेकाे थियाे भने रत्न टोल विकास संस्था र इलाका प्रहरी कार्यालय बेलबारीले ४ लाख १० हजार रुपैयाँ बराबरको श्रमदान गरेको बेलबारी नगरपालिकाका सब(इन्जिनियर विप्लव राजवंशीले जानकारी दिएका छन् ।
उद्घाटन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक खापुङले स्रोत साधनको अभाव भए पनि शान्ति सुरक्षाको हकमा कोशी प्रदेशमा कुनै कमी कमजोरी हुन नदिने बताएका छन् । साथै इलाका प्रहरी कार्यालय बेलबारीको कार्य क्षेत्र, मुद्दाको चाप, हाइवे क्षेत्र, जनसङ्ख्याको कारण बेलबारीमा डिएसपीको दरबन्दी आवश्यक रहेको खापुङले बताए । बेलबारीमा डिएसपीको दरबन्दी कायम गर्नु पर्ने आवश्यकता रहेको आइँजीलाई पनि रिपोर्टिङ गरेको र आइजी सकारात्मक रहेको खापुङले जानकारी दिएका छन् ।
खापुङले बेलबारीबाट विशेष परिस्थिति र कारणवश नेपाल प्रहरीको प्रादेशिक अस्पताल सरे पनि बेलबारीमा नै अस्पताल राख्न आवश्यक रहेको बताएका छन् । उनले भने ‘के कारण अस्पताल सरो त्यस विशेषमा धेरै थाहा छैन तर बेलबारीमा अस्पताल राख्न आवश्यक छ । सम्भवता चाडै नेपाल प्रहरी अस्पतालले बेलबारीमा सेवा सुचारु गर्ने छ ।’
बेलबारी नगर प्रमुख राई र उपप्रमुख नितु थापा कोइरालाको नेतृत्वमा नायव महानिरीक्षक खापुङसहितको प्रहरी टोलीलाई बेलबारी ४ मा निर्माणाधीन नगर अस्पतालको भवन अवलोकन पनि गराइएको छ । उक्त भवन अवलोकन पश्चात् खापुङले नगर अस्पतालको भवन अस्पताल सञ्चालनको लागि पर्याप्त स्थान र राम्रो रहेको बताए । कोशी प्रदेश प्रहरी अस्पतालको आफ्नै भवन निर्माण कार्य सम्पन्न नभएसम्म हाललाई बेलबारी नगरपालिकाको नगर अस्पताल र कोशी प्रदेश नेपाल प्रहरी अस्पताल संयुक्त रूपमा सञ्चालन गर्ने योजना रहेको छ ।
नवनिर्मित आवास भवन तथा भन्साघरको समुद्घाटन समारोहमा सुन्दरहरैँचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईँ, केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिकाकी नगर उपप्रमुख नितु थापा कोइराला, केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख ९एसपी० नवराज कार्कीले कार्यक्रममा स्वागत मन्तव्य गरेका थिए भने इलाका प्रहरी कार्यालय बेलबारीमा प्रमुख प्रहरी निरीक्षक तेज दाहालले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको हो ।
नगर प्रमुख राईले ४ वटा पालिकामा इलाका प्रहरी कार्यालयले करिब ३ लाख नागरिकलाई सुरक्षा प्रदान गर्न सम्भव नहुने बताउँदै थप जनशक्तिसहित डिएसपीको दरबन्दी आवश्यक रहेको बताएका छन् । शान्ति सुरक्षासँगै स्वास्थ्य क्षेत्रमा पनि जनसङ्ख्याको आधारमा सेवा दिनु व्यवस्थापन हुनु पर्ने बताएका छन् ।