विराटचाेक बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा जमरा राखिएको ठाउँमा साँझपख देवीको आराधनासहित फूलपाती भित्र्याउने चलन छ।
फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष आदि पर्छ। यसलाई नवपत्रिका पनि भनिन्छ।
फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्र्याउने चलन रहिआएको पनि संस्कृतिविद्हरूले बताए। केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा नवदुर्गाको आह्वान गरी दसैंघरमा जमरा राखे पनि फूलपातीको दिनदेखि चहलपहल अझ तीव्र हुन्छ। आजदेखि सरकारी कार्यालय बिदा रहने हुँदा पेसा, व्यवसायमा आबद्धहरू टीकाजमरा थाप्न घर फर्कने क्रम तीव्र हुन्छ।