
तीज हिन्दू नेपाली नारीहरूले मनाउने महत्त्वपूर्ण र माहान चाड हो। यसले सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको छ । तीज यहि दिनबाट सुरु भएको भन्ने ठ्याक्कै मिति नभेटिए पनि नेपालमा यो चलन पौराणिक कालदेखि नै चलिआएको हो भनेर बुझ्ने गरिन्छ । धार्मिक कथन अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिन देखि चलेको र आज सम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै र रमाउदै आएको पाइन्छ ।
वर्तमान अवस्थामा यो पर्वमा तपाइँ हाम्रो प्रत्यक्ष संलग्नता रहेको छ । विज्ञान र प्रविधिले ल्याएको परिवर्तन, विश्वव्यापीकरण, पुस्तान्तरण, समयको माग, देशको राजनीतिक परिवर्तन र हाम्रो सृजनशीलता आदिका कारणले चाडपर्व मनाउने शैली र प्रक्रियामा परिवर्तन हुनुलाई स्वभाविक मान्न सकिन्छ । हाम्रा सस्कारहरूलाई परिस्कृत गर्दै लैजानु पर्दछ भन्ने मान्यतालाई स्वीकार्य गरिएको भएता पनि अहिले चाँडवाड मनाउने पपरम्परा कतिपय अवस्थामा स्वीकार गर्न र पचाउन नसकिने अवस्थामा पुगेका छन् ।
तीजलगायत धेरै पर्वहरूलाई फेसबुक र टिकटकमुखी बनाइदै छ। साच्चै भन्नु पर्दा अहिलेको चाँड घरपरिवार र आफन्तमा मायाँ ममता दु:ख-सुख साटासाट हुँदैन भन्दा पनि हुन्छ । यो त सामाजिक सञ्जालमुखी र प्रचारमुखी हुदै गएको छ । हामी सबै त्यसैपारमा रमाएकै छौँ । हुदा हुदा चाड पनि सामाजिक सञ्जालमा नै आएको हो की जस्तो लाग्न थालेको छ । घर सुनसान हुन्छ, पार्टी प्यालेस हाउसफूल र फेसबुककावाल रङ्गिन हुन्छन् । कुरा सञ्जलको प्रयोगको हैन । हाम्रा मौलिक संस्कृति सामाजिक सञ्जाल मुखी भए भने पर्वको वास्तविक मर्म र भावना हराउदछ भन्ने हो । भोलिका पुस्तामा गलत संस्कारको हस्तान्त्रण हुन्छ भन्ने डर हो । आउने पुस्ताले वास्तविक तीज के हो ? कहिले र किन मनाउने ? भन्ने कुरा कसरी जान्दछन् ? भोली समयले हामिलाइ धिकार्छ की जस्तो लागेको छ । मौलिक संस्कार र संस्कृति मेटिनु भनेको हाम्रो ज्ञान सँगै सम्पति पनि मेटिनु र आयातित संस्कृतिको हस्तक्षेप बढ्नु हो । अर्थात देश कमजोर हुनु हो र राष्ट्रियता र राष्ट्रिय भावना कमजोर हुनु हो । यसको असर तत्काल नदेखिएपनि दीर्घकालमा देखिने छ । यसमा मेकालेको शिक्षा नीतिले काम गरिरहेको छ जहाँ बिदेशी सँस्कार संस्कृतिले देशको संस्कारलाई थाहै नदिइ खाइदिन्छ त्यो देश आफै ध्वस्त हुन्छ जुन कुरा हामीले नै मनाउने तीज ल्गाएत अन्य पर्वमा आएको परिवर्तनलाई लिन सकिन्छ ।
मैले अनुभव गरेको कुरा के हो भने केही वर्ष यता तीज सामूहिक रूपमा मनाउने प्रचलन बढेको छ । यो परिवर्तन विकसित भएर हो यात विकृत भएर हो कतिपय अवस्थामा निकै उग्र र अनैतिक पनि छन् । यो शैली सबै महिलाका लागि अनुकुल छैन । सामूहिकता ठिकै होला तर सामुहिकतामा आएका तडक भडकले परम्परामा असर पुगिरहेको पाउछु । जस्तै सामूहिक तीज, सामूहिक बस्त्र । नियालेर हेर्दा प्रत्येक वर्षको तीजमा एकजना महिलाले सामूहिक तीजमा सहभागि हुँन जाँदा निकै प्रकारका बस्त्र वा सारी आदि खरिद गर्नु पर्ने गरी तीज आइरहेका छन् । भाइरल सारी र कपडाका कुरा सबैले बुझेकै छौँ । यसले गर्दा हाम्रो तीज निकै महंगो, खर्चिलो र भड्किलो हुदैछ कि ?
सामूहिक तीजको दोस्रो रूपलाई पनि केहि भन्न सकिएको छैन । त्यो हो सामाजिक सङ्घ सस्थाहरूबाट गरिने सामूहिक तीज र मनोरञ्जनको आयोजना । सामूहिक तीजका लागि हाम्रा सामाजिक सङ्घ संस्थाहरूलाई समेत गतिलै गरी प्रभावित गरेको छ । महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारीरगैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब,समूह, विद्यालय आदि सबैले तीजको कार्यक्रम आयोजना गर्ने र भाइरल पोषाक लगाएर भाइरल हुने गरेका छौँ । अन्य कुरामा अनौठो नमाने पनि शैक्षिक संस्थाभित्र पनि नयाँ संस्कार सस्कृतिले रजाँइ गरेको देखिन्छ । शिक्षाविद र संस्कृतिविदहरू के गरिरहनु भएको होला भन्ने प्रश्न मात्र आउँछ ।
सामूहिक तीजको अभ्यासले समय सिमा तोडेको देखिन्छ । दुई महिना अगाडिबाट तीज आउन थालेका छन् । यसो नगरेर समय मिलाउन पनि नसकिएला । यसले समाज रूपान्तरणमा मद्त गर्ला र ? कति समय सम्म तीज मनाउने ? यसले संस्कार संसकृति मनाउने सिमालाई नष्ट गरिरहेको र फजुलमा समय गएको त छैन ? संस्कार सस्कृतिको संरक्षण गर्नुपर्ने पाठशाला पनि यसबाट अछुता देखिदैनन । कतिपय अवस्थामा त यहि तीज विद्यालयका विज्ञापन बनिरहेको देखिन्छन । यसले अवस्य राम्रो संकेत गरिरहेको छैन ।
दोस्रो कुरा, तीजमा गाउने गीत ,यो गीतमा अर्कै मजा थियो र छ । तर यसमा शब्दहरूमा उच्छृङ्खलता र नाचमा अंग प्रदर्शन मिसिदै छन । अश्लीलताको मात्रा चर्को रूपमा बढिरहेको छ। कतिपय तीज गीत र नाचगान घरपरिवारका सबै सदस्यहरू सँगै बसेर हेर्न र सुन्न नसकिने छन् । यसमा कहिँ कसैको रोकटोक छैन । लेखाजोखा त भइरहेकै होला । तीजका गीत र नृत्यहरूले कतै बाटो बिराइरहेका त छैनन ?
तेस्रो र अझै गम्भिर र जटिल कुरा त के छ भने तीजको बाहनामा महंगा होटल, पाटी प्यालेस र रेष्टुरामा महिलाहरू पनि तामसी भोजनमा रहने गरेका चित्रहरू र भिडियोहरू सामाजिक सञ्जालमा नै निकै बाक्लो गरि आउदैछन् । यसले तीजलाई कुरूप बनाउनमा मद्त गरिरहेको छ । पार्टी प्यालेसका तीजबाट त मलाई तीजले घर र भाइती घर भूलेको जस्तो लाग्छ ।
पर्वमा नरमाउने हैन, मनोरन्जन पनि गर्ने हो तर रमाउने तरिका भडकिला नबनुन् । अलिकति जोगिन खोजेको हो भने अलिकति संस्कार र संस्कृति बचाउन पनि । सकिन्छ भने तीजलाई केहि प्रगतिशील पनि बनाउन सकिएला । जस्तो कि आर्थिक, सामाजिक रुपले पछाडि परेका, तीजमा रमाउन नसकेका, अन्यायमा परेका मानिसहहरू, सामाजिक न्याय र असजिलोमा परेकाहरूलाई सहयोग गर्ने सामजिक अभियानका रुपमा मनाउन सकिन्छ ? उनीहरूसँग नाचगान गरेर र उनीहरूलाई रमाउने बनाएर मनाउ न । बृद्धबृद्धाहरूका साथमा पुगेर, अनाथलयका आश्रममा गएर, सचेतनामूक कार्यक्रम गरेर, सामाजिक हिंसामा परेका मानिसको उद्दारको निम्ति तीज मनाउने परम्परा बसाउ । यस्ता कार्य त दुई महिना अगाडिदेखि नै गर्दा पनि फरक नपर्ला । यी कार्यमा प्रतिस्पर्धा गर्दै यस्ता पोष्टबाट सामाजिक सञ्जालमा भाइरल बनाउन पाउदा पक्कै राम्रो हुन्छ ।
वास्तविक तीज तीजका दिन भन्दा धेरै टाढा नपुर्याऊ र तीजकै नामना पाटीप्यालेस र रेष्टुरामा तामसी भोज नगरौ की । तीजकै दिन नमनाएको तीज मलाई त खल्लो र नरामाइलो लाग्नथालेको छ। तीजका दिन माइति घरमा आमा दिदि बहिनी सबै सँगै बसेर नाचेको र राती उठेर आँखा मिच्दै सबै सँगै वसेर खाएको र भोलीपल्ट हरितालीका व्रर्त बसेको अर्कै रमाइलो भएको महशुस हुन्छ । हालै एकजना महिलाले भन्नुभयो की आमा बुबा हुनुहुन्न तीजको दिन त माइतमा नै गएर रमाउन मन लाग्छ तर दाजुभाउजुले अगाडी नै बोलाउनु हुन्छ तिजकै दिन माइतमा नहुदा सारै खल्लो लाग्छ भन्नु भएपछि मेरो मनमा झनै झस्का पसेको छ । वास्तविक तीज त भुल्न लागिएछ जस्तो भयो । म पनि तीजकै दिन र सकेसम्म माइति घरकै बरण्डामा र चुलोमा पकाएको खाएर तीज मनाउने सोचमा छु, हेरौँ माइतिले कुन दिन बोलाउनुहुन्छ !
अन्त्यमा नेपाली महिलाहरुको तीज सभ्य, सुसंस्कृत र उल्लासमय बनोस । सबै सबैमा तीजको शुभकामना छ ।
