विराटचाेक: नेपालमा जारी मनसुनी वर्षाले ल्याएको बाढी र पहिरोको प्रकोपले देशभर ठूलो क्षति पुर्याएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ देखि हालसम्म यस प्राकृतिक विपत्तिमा परेर ८० जनाको मृत्यु भएको छ।
प्रदेशगत विवरण अनुसार कोसी प्रदेश: १९ , गण्डकी प्रदेश: २२, लुम्बिनी प्रदेश: २० ,सुदूरपश्चिम प्रदेश: ७, बागमती प्रदेश: ४ , कर्णाली प्रदेश: ४ , मधेस प्रदेश: ३ र काठमाडौं उपत्यका: १ जनाकाे ज्यान गएको हाे ।
यसैबीच, पाँच जना अझै बेपत्ता रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विपदमा परी ९७ जना घाइते भएका छन्, जसको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
हालसम्म विपदमा फसेका ५३ जनाको सफल उद्धार गरिएको छ। उद्धार कार्य निरन्तर जारी रहेको र थप प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ।
प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्यलाई तीव्रता दिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र स्वयंसेवी संस्थाहरू मिलेर प्रभावितहरूलाई सहयोग पुर्याइरहेका छन्।
मौसम विभागले अझै केही दिन वर्षा जारी रहने पूर्वानुमान गरेको छ। नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। नदी किनार र पहिरो जोखिम क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।