विराटचाेक: माेरङकाे सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरस्थित भूल्के मन्दिर छेउको वन क्षेत्रमा स्थानीय युवाहरूले बालमैत्री पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालेका छन्।
पहिले झाडी, फोहोर र अव्यवस्थित रहेको उक्त क्षेत्रलाई युवाहरूले सरसफाइ गरी आकर्षक बनाउँदै लगेका हुन्। बैशाख १ गतेदेखि सुरु गरिएको अभियानमा कुनै पनि संघसंस्थाको आर्थिक वा भौतिक सहयोग छैन। युवाहरू आफै जुटेर हरियाली विस्तार, खुला खेलमैदान निर्माण, पोखरी संरक्षण लगायतका काममा सक्रिय छन्।
अभियन्ता काकु थापाका अनुसार, अहिलेको पुस्ता मोबाइल र टेलिभिजनमा अत्यधिक निर्भर हुँदै गइरहेकाले त्यसबाट टाढा राख्ने वातावरण बनाउने सोचका साथ अभियान अघि बढाइएको हो। “हाम्रो समाज बजारिकरणतर्फ अघि बढिरहेको छ। ६ धुर, १० धुरको घडेरीमा घर त बन्ने गर्छ, तर बालबालिकालाई खेल्न न त ठाउँ हुन्छ, न वातावरण,” उनले भने, “मोबाइलले बालदिमागमा असर पारिरहेको छ। त्यसैले प्राकृतिक रूपमा ढुङ्गा-माटोसंग खेल्न, रमाउन सक्ने वातावरण बनाउन हामी जुटेका हौं।” अहिले पनि वरिपरिका बालबालिका खेल्न रमाउन आउन थालेका छन् ।
भूल्के मन्दिर काखमा रहेको पोखरीको संरक्षणपछि अहिलेको वातावरण झनै सुन्दर र आकर्षक देखिएको छ। कंक्रिट प्रयोग नगरी प्राकृतिक रूपमै सौन्दर्यकरण गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानमा बालबालिकालाई सामूहिक रूपमा विद्यालयबाट ल्याएर रमाउने र सिक्ने ठाउँका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
स्थानीय युवाको यस्तो सक्रियताले सलकपुर क्षेत्र क्रमशः सकारात्मक परिवर्तनतर्फ अघि बढिरहेको छ।