कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

बाल विकासका लागि सङ्गठन (अर्किड) को दशौं वार्षिक साधारणसभा तथा सामाजिक लेखा परीक्षण सम्पन्न

बेलबारी / बाल विकासका लागि संगठन (अर्किड) को दशौँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। मोरङको बेलबारीमा रहेको उक्त संगठनको वार्षिक कार्यक्रम बिहीबार सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई रहनुभएको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै अनाथ, असहाय तथा विपन्न बालबालिकाको क्षेत्रमा काम गर्ने यस्तो संस्था आफ्नो पालिकामा हुनु गौरवको विषय भएको बताउनुभयो। उहाँले बालबालिकाको क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण विषय भएको उल्लेख गर्दै अहिलेसम्म बालबालिकालाई आवश्यक मनोपरामर्श पुर्‍याउन नसकिएकाले कतिपय बालबालिका लागूऔषधको कुलतमा फस्ने गरेको बताउनुभयो। यस विषयलाई गम्भीर चुनौतीका रूपमा लिँदै बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूले उनीहरूलाई सुयोग्य नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय सरकारले विद्यालय तथा टोलस्तरमा लागूऔषध विरुद्धका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
यसैगरी सुन्दरहरैँचा नगरपालिका–१२ का वडा अध्यक्ष रोशनप्रसाद ढकालले बालबालिकाको क्षेत्रमा काम गर्ने यो अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै नागरिक, संघसंस्था र स्थानीय सरकारको समन्वयमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीले हाल बालबालिका साइबर अपराधको सिकार हुने क्रम बढिरहेको भन्दै यसबाट जोगिन विभिन्न सचेतनामूलक अभियान आवश्यक रहेको बताउनुभयो। यस्ता अभियानले ठूला दुर्घटना तथा अपराध न्यूनिकरण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। साथै, सडक दुर्घटना तथा समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीय नागरिक ‘बिनाबर्दीका प्रहरी’ भएकाले धेरै जनसंख्या भएको क्षेत्रमा सुरक्षा मजबुत बनाउन प्रहरी र नागरिकबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राजनीतिक तथा सामाजिक व्यक्तित्व हर्कमान तामाङ रहनुभएको थियो। साथै बालबालिका खोजतलास समन्वय केन्द्र १०४ कोशी प्रदेशका प्रमुख प्रहरी नायब निरीक्षक मोतीराज दाहाल, कबिर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक अभय लिम्बू, नवजनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक महानन्द तिम्सिनालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीकी महिला सेलकी सरिता बुढाथोकी, लेखक केशु विरही, सामाजिक व्यक्तित्वहरू हेमराज थापा, देव सैँजुलगायतको उपस्थिति रहेको थियो।

संस्थाका सचिव हर्कराज बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका कार्यवाहक अध्यक्ष आइतराज लिम्बूले गर्नुभएको थियो। संस्थाकी सदस्य सुनिता तिवारी हुमगाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाको परिचय तथा शुभकामना मन्तव्य दातृ संस्था सिपिसिएसका कार्यक्रम निर्देशक नवराज पोखरेल ‘नवशिला’ले व्यक्त गर्नुभएको थियो।