फिचर समाचार

बिषालु सर्पको टाेकाइबाट बालककाे मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका १ ढिक्की टोलमा विषालु सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ११ वर्षीय बालक प्राञ्जल राउत रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक बालक बेलबारी नगरपालिका ७, बाहुनीस्थित ज्ञानोदय इङ्ग्लिस स्कुलको कक्षा ५ मा अध्ययनरत थिए ।

विद्यालयका सञ्चालक प्रेम तामाङका अनुसार आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको अवस्थामा बालकलाई सिरानीमुनि रहेको गोमन सर्पले टाउकोमा टोकेको थियो । सर्पले टोक्नासाथ बालकलाई उपचारार्थ सुनसरीको इटहरीस्थित नेपाली सेनाको २ नम्बर वाहिनी अड्डामा सञ्चालित सर्पदंश उपचार केन्द्र लगिएकोमा उपचार केन्द्र प्रशासनले भर्ना गर्न इन्कार गरेपछि अन्यत्र लैजाने क्रममा बाटैमा ज्यान गएको सञ्चालक तामाङले जानकारी दिए । विद्यालयमा अध्ययनरत बालकको ज्यान गएपछि विद्यालयले सूचना जारी गरी आज शोक बिदा दिएको पनि उनले उल्लेख गरे ।