माेरङ: सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा परोपकार महिला समूहले आयोजना गरेको १५ दिने पाक कला बेकरी तालिम आजदेखि सुरू भएको छ। वडा नं. १२ स्थित गोल्डेन क्राउनमा सुरु भएको तालिममा २४ जना महिलाहरूको सहभागिता रहेको छ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नगरपालिकाका उपप्रमुख अकली चौधरीले महिलाहरूलाई व्यवहारिक सीप प्रदान गरी स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले यस्ताे तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले सहभागी महिलाहरूलाई सिकाइएका सीपलाई व्यावसायिक रूपमा उपयोग गर्न आग्रह गर्नुभयो। साथै, आगामी नीति तथा कार्यक्रममा पनि यस्ता उपयोगी तालिमहरू समावेश गरिने जानकारी दिनुभयो।

तालिममा प्रशिक्षक सिद्धार्थ उप्रेतिले केक, पाउरोटी, ब्रेड, डोनट, सुप, पराठा लगायतका बेकरी सामग्री बनाउने विधि सिकाइने जानकारी दिनुभयो। तालिमको उद्देश्य महिलाहरूलाई घरेलु तथा साना स्तरका बेकरी व्यवसायमा अगाडि बढाउन सीप विकास गर्नु रहेको छ । कार्यक्रमको सभापतित्व परोपकार महिला समूहकी अध्यक्ष निरू बजगाईंले गर्नुभएको थियो भने स्वागत मन्तव्य उमा गुरुङले दिनुभएको थियो।

कार्यक्रममा नगर कार्यपालिका सदस्य रूजा घिमिरे, बविता खापुङ, सामाजिक शाखा प्रमुख गुणनिधि दाहाल, लगायतको उपस्थिति रहेको थियो।
सामाजिक व्यक्तित्व मन्जु रेग्मीले यस्ता तालिम गाउँ समाजका महिलाहरूको जीवनस्तर उकास्न महत्वपूर्ण हुने बताउनुभयो। संस्थाकी सल्लाहकार तारा घिमिरेले महिलालाई उद्यमशील बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो।
सामाजिक शाखा प्रमुख दाहालले सहभागीहरूले सिकाइएका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै, तालिमलाई केवल ज्ञानको लागि होइन, स्वरोजगारको लागि उपयोग गर्नुपर्ने सुझाव दिनुभयो।

वक्ताहरूले स्थानीय सरकारले यस्ता तालिमहरूमा लगानी गर्दै आएको भए पनि त्यसअनुसारको उपलब्धि देखिन नसकेको जनाउँदै, आगामी तालिमहरूलाई परिणाममुखी बनाउन आवश्यक रहेको धारणा राखेका थिए।