मोरङ\ मोरङको बेलबारीमा स्रष्टा नवराज पोखरेलको कृति ‘नवशिला’ मुक्तसङ्ग्रहमाथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा एक विशेष कार्यक्रमका बिच कृतिमाथिको परिचर्चा भएको हो ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा सम्पन्न परिचर्चा कार्यक्रममा पत्रकार, साहित्यकार तथा अनुसन्धाता केशु विरही, प्राज्ञ विवश पोखरेल तथा वरिष्ठ कवि बाबुराम पोखरेल टिप्पणीकर्ताका रूपमा रहेका थिए ।
अनुसन्धाता केशु विरहीले स्रष्टा पोखरेलको व्यक्तित्वको मूल्याङ्कन तथा ‘नवशिला’ को रचना गर्भका बारेमा टिप्पणी गर्दै स्रष्टा पोखरेल ५० कै दकदेखि कलम चलाउँदै आएको र उनका रचनाको भावभूमि यही समाज भएको बताए । अर्का टिप्पणीकर्ता प्राज्ञ विवश पोखरेलले यस कृतिले समसामयिकतालाई प्राथमिकता दिएको बताए । प्राज्ञ पोखरेलले यस कृतिले बहुभाव बोकेको बताए । वरिष्ठ कवि तथा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष बाबुराम पोखरेलले कृतिकारका केही रचनाबाहेकका रचनाहरू लादित्य रहेको विचार व्यक्त गरे । साथै उनले यस कृतिमा कृतिकारको दिनचर्चासमेत अटाएकाले यो कृति ऐतिहासिक बन्न पुगेको पनि बताए ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई को प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, जनगायिका तथा संविधान सभा सदस्य मधु गुरुङ, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारीका अग्रज स्रष्टा इरान राई, सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापक दीपक गौतम, सङ्गीतकर्मी जेबी थुलुङ, कृतिकारका मातापिता दुर्गादेवी पोखरेल÷लक्ष्मीप्रसाद पोखरेल, कृतिका प्रकाशक एवम् कृतिकारकी श्रीमती शिला पोखरेललगायत सय जनाभन्दा बढी साहित्यिक तथा शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा भाषाविद् तथा शैक्षिक व्यक्तित्व आचार्य अ., प्रगतिशील लेखक सङ्घ कोसी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्यकार एवम् समीक्षक भवानी प्रसाद पोखरेल, स्रष्टा विष्णु भण्डारी आचार्य, कण लघुकथा मञ्चका अध्यक्ष दीप मग्राती, गजलकार सुन्दर भट्ट, मुक्तककार एकराज भट्टराई, कृतिकारकी छोरी नीकिशारानी पोखरेललगायतले कार्यक्रममा रचना वाचन गरेका थिए ।
असार पन्ध्रको व्यस्तताका बिच कार्यक्रमको आयोजना गरिएको भए पनि सहभागिता भने निकै उल्लेख्य रहेको लेखक पोखरेल बताउँछन् । उनी भन्छन् ‘कार्यक्रम निकै भव्य बन्न पुग्यो । असार पन्ध्र र अरू केही ठाउँमा पनि कार्यक्रम भएकाले अपेक्षा गरेका सबै व्यक्तित्वहरू उपस्थित हुन नसके पनि कार्यक्रम निकै भव्य भएको मैले ठानेको छु ।’
संस्थाका सहकोषाध्यक्ष राजु परियारको शुभकामनाबाट सुरु भएको कार्यक्रमको सञ्चाल भने संस्थाकी सचिव उमा सिजापतिको रहेको थियो । कार्यक्रमक बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।