विराटचाेक: माेरङकाे बेलबारीमा सम्पन्न सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ। एलएक्स सिटी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा झापाले सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्यो।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा झापाले सिराहालाई ५-३ गोलको अन्तरले पराजित गर्यो। विजेता झापाले ८ लाख रुपैयाँ र उपविजेता सिराहाले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरे।
टाइब्रेकरमा झापाका तर्फबाट दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे। सिराहाका तर्फबाट राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरे। समिर तामाङको प्रहारलाई झापाका गोलरक्षक सन्दीप लिम्बूले रोके।
पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए। खेलको ५०औं मिनेटमा सिराहाका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७१औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, प्रदेश सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल लगायतको उपस्थिति रहेको थियो।