खेलकुद फिचर समाचार स्थानिय

बेलबारी गोल्डकपको सातौँ संस्करण असोज ११ गतेदेखि सुरु हुने

विराटचाेक बेलबारी गोल्डकपको सातौँ संस्करण असोज ११ गतेदेखि सुरु हुने भएको छ। बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग रंगशालामा आयोजना हुने यस प्रतियोगितामा एक भारतीय टोली सहित नेपालका १० क्लबले भाग लिने छन्।

सहभागी टोलीहरूमा नेपाल पुलिस क्लब, साविक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब राजारानी धनकुटा, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब रहेका छन्।

विजेता टोलीले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ पाउनेछन्। 

यस संस्करणदेखि रनिङ कप गोल्डकपमा दुई तोला सुन र ढाई किलो चाँदीजडित ट्रफी राखिएको छ। यो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रदान गरेका हुन्। लगातार तीन पटक विजेता हुने टोलीले यो ट्रफी स्थायी रूपमा प्राप्त गर्नेछ। यसपटक आयोजक क्लबको नाम डाँगीहाट युथ क्लबबाट परिवर्तन गरी एल एक्स सिटी फुटबल क्लब राखिएको छ। प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।