मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आजदेखि ‘७ औं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ हुँदैछ ।
एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको आज हुने उद्घाटन खेल झापाको झापा ११ र पश्चिमबंगाल सिलगुढीको कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।वर्षाका कारण स्थगित भएको गोल्डकप पुनः हुन लागेको हो । कात्तिक १० गतेसम्म हुने प्रतियोगिता आयोजकसहित नेपाल र भारतका गरी १० टोलीको सहभागिता रहेको छ ।
क्लब यसअघि असोज ११ गतेदेखि गर्ने खेलको तालिका सार्वजनिक गरेको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेर खेल्न मात्रै बाँकी छँदा भारी वर्षाका कारण खेल स्थगित गरेको थियो ।आयोजक एलएक्स सिटी फुटबल क्लब, डिफेन्डिङ च्याम्पियन काठमाडौंको बिग्रेड ब्वाइज क्लब, झापा ११ फुटबल क्लब, सिलगुढीको कञ्चनजंघा फुटबल क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, बुटबल लुम्बिनी फुटबल क्लब, सिरहाको सलहेश युवा क्लब, भोजपुर जिल्ला फुटबल संघ, धनकुटाको रारा फुटबल क्लब र भारत पश्चिमबंगालको दलसिंहपारा स्पोर्टस एकेडेमीको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखका साथ शिल्ड प्राप्त गर्ने छन् ।प्रतियोगितामा प्लेयर अफ द म्याच, सर्वाेत्कृष्ट खेलाडी, सर्वाेत्कृष्ट गोलरक्षक, सर्वाेत्कृष्ट डिफेन्डर, सर्वाेत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदयिमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकले व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् ।
