विराटचाेक: धनकुटाकाे भेडेटारमा निर्माण भएको स्काईवाक सञ्चालनमा आएको छ । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार उक्त परियाेजनाकाे उद्घाटन गरेसंगै सञ्चालनमा आएको हाे । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो ।
वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए ।
धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको राेजाईमा पर्दछ । स्काईवाक सञ्चालन भए पछि भेडेटारमा पर्यटकहरू दाेब्बर संख्यामा बढ्ने दाबी गरिएको छ । परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको जनाइएको छ ।
५० मिटर लम्बाइ रहेको स्काईवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भएको परियोजना स्रोतले जनाएको छ । एक पटकमा दुई सय जना हिँड्न सकिने उक्त स्काईवाकको उचाइ १ सय, चौडाइ ४ मिटर र घुम्तीमा १० मिटरको रहेको छ । यसकालागि ५ सय रूपैयाँकाे टिकट लिनुपर्ने छ ।