फिचर समाचार

मनसुनसँगै पर्ने चट्याङबाट कसरी जाेगिने

विराटचाेक मनसुनसँगै चट्याङ पर्ने क्रम बढेको छ । सरकारी तथ्याङ्क अनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ । वरिष्ठ मौसमविद्का अनुसार मनसुनमा बादल हुँदै आकाशबाट जमिनमा विद्युतीय लहरको झट्का खस्ने जोखिम उच्च हुन्छ । तर यसबारे न पूर्वानुमान गर्न सकिन्छ, न रोक्न नै ।

के हो चट्याङ

‘चट्याङ आकाशमा क्युमलोनिम्बस नामको एक किसिमको बादल निर्माण हुने बेला मात्र देखा पर्ने गर्छ । यस्तो बादलको स्वरुप कालो हुने गर्छ भने यस्तो बादलको निर्माणले चट्याङ पर्ने मौसमी गतिविधिलाई निम्त्याइरहेको हुन्छ । चट्याङ शक्तिशाली बिजुलीको धार हो । गर्मी महिनामा जमिन तातो भएपछि तातो हावा आकाशमा जाने र बादलभित्र हावा तलमाथि हुँदै गर्दा उत्पन्न हुने घर्षणपछि करेन्टको उत्पति हुन्छ । यसरी उत्पन्न भएको करेन्टको धार पोजेटिभ र नेगेटिभ हुने र यी दुई धार आपसमा जोडिएर चट्याङ पर्ने गर्दछ ।

चट्याङबाट कसरी जोगिने

प्रकृति र मौसमसँग सम्बन्धित हुने भएकाले चट्याङलाई टार्न सकिन्न । तर यसबाट हुने नोक्सानीलाई भने कम गर्न सकिन्छ । नेपालमा चट्याङ परेका बेला घरभित्रै बस्नु नै चट्याङबाट जोगिने उत्तम उपाय भएको विज्ञ बताउँछन् । खेतीपातीको चटारो पर्ने बेला चट्याङ पर्ने हुँदा खेतबारीमा काम गर्दा विशेष ध्यान दिनुपर्छ ।

रुखको फेदमा र छेउछाउमा आड लगाएर बस्नु हुँदैन
मेघगर्जनसहित पानी पर्दा घरबाहिर निस्कन हुँदैन
पौडी पोखरी र आसपासमा जानु हुँदैन
रुखको फेद र आसपासमा बस्नु हुँदैन
छाता खोल्ने या मोबाइल फोन प्रयोग गर्ने गर्नु हुँदैन भने बिजुलीबाट चल्ने उपकरण बन्द गर्नुपर्छ
घरबाहिर भए मोटरगाडीभित्र झ्यालढोका बन्द गरी बस्नु उचित हुन्छ

कतै सहारा लिने ठाउँ छैन भने घुँडाले भुइँमा टेकेर हात टाउकोमाथि राखी निहुरिएर बस्नुपर्छ
तर भुइँमा लम्पसार पर्ने वा सुत्ने गर्नुहुँदैन, यसले चट्याङको खतरा झन् बढी हुने गर्छ ।

यस्तै मेघगर्जनसहित पानी परिरहेको बेलामा ती पानीको थोपामा पनि विद्युत् चार्ज भइरहेको हुन्छ । त्यसैले मेघगर्जनसहित पानी परेको बेला जोखिम धेरै हुन्छ । यस्तो बेला हिँडडुल गर्न नहुने विज्ञको भनाइ छ ।

अध्ययनले संसारमै चट्याङका तीन ‘हटस्टप’मध्ये नेपाललाई एक मानेको छ । चट्याङको नक्साले अफ्रिकाको कङ्गो क्षेत्रलाई सबैभन्दा जोखिममा देखाएको छ भने त्यसपछि दक्षिण अमेरिकाको भेनेजुएला वरिपरिको क्षेत्र र अर्को जोखिमयुक्त क्षेत्र नेपाललाई देखाएको छ ।

एजेन्सी