काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्ति पाएलगत्तै महावीर पुनले आजैदेखि काम अघि बढाउने उद्देश्यसहित तीन ठोस कदम सार्वजनिक गरेका छन्।
मन्त्री पुनले पहिलो निर्णयका रूपमा नेपालभरका सामुदायिक माध्यमिक विद्यालयका प्रत्येक विद्यार्थीलाई कम्प्युटर शिक्षा पहुँचमा ल्याउन हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्ने तयारी गर्न निर्देशन दिएका छन्।
दोस्रो निर्णयका रूपमा उनले केही विश्वविद्यालयहरूले परीक्षा लिएर नतिजा निकाल्न ८ महिना देखि १ वर्षसम्म लगाउने गरेको गुनासोमा चासो देखाउँदै अबदेखि बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशित गर्न निर्देशन दिने घोषणा गरेका छन्। समयमा नतिजा सार्वजनिक नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनीसमेत दिएका छन्। उनले उदाहरण दिँदै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनामै निकाल्ने गरेको तथ्य प्रस्तुत गरे।
तेस्रो निर्णयका रूपमा उनले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर परिसरभित्रको ठूलो क्षेत्रमा फैलिएको झाडी सफा गरी सुन्दर बगैँचा र फुटपाथ निर्माण गर्ने कार्य अघि बढाउने बताएका छन्। यस क्रममा ठूला रुखहरू काट्ने काम भने नगर्ने मन्त्री पुनको भनाइ छ।




