विराटचाेक: ‘द भ्वाइस किड्स’ सिजन ३ को फाइनलमा पुग्न सफल भएकी समीक्षा दाहालले यतिबेला आफ्नो गृहनगरमा भव्य स्वागत पाएकी छिन्। मोरङको सुन्दरहरैचा १० निवासी समीक्षाले साेमबार आफू पढ्ने विद्यालयबाट सुरु गरेर विभिन्न विद्यालयहरूमा गई आफ्नो सांगीतिक कोसेली बाँडेकी छिन्।

समीक्षाको स्वागतमा उत्साहित विद्यार्थीहरूले उनलाई हेर्न र हात मिलाउन भीड लगाएका थिए। यो क्षण अत्यन्त सुन्दर र भावुक थियो। भाेट फर समीक्षा भन्दै हुटिङ लगाउँदा बालबालिकाहरूको यो स्नेहले समीक्षाका लागि विशेष स्मरणीय क्षण बन्न पुग्याे ।

ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा अध्ययनरत समीक्षाले विद्यालयका शिक्षक र अभिभावकहरूसँग पनि नाचगान गरेर रमाइलो गरिन्। सुरिलो स्वर र मन्द मुस्कानसहित आफ्ना साथीहरूलाई लजाउँदै हात हल्लाउँदै गीत गाउँदा समीक्षा अत्यन्त प्रफुल्लित देखिन्थिन्। साथीहरूको अपार स्नेहमा उनी विभोर भएकी थिइन्।

केही साना बालबालिकाहरूले उनलाई चकलेट उपहार दिएर आफ्नो माया प्रकट गरे। यस्तो स्नेहपूर्ण व्यवहारले समीक्षालाई भावुक बनाएको थियो।

अन्य विद्यालयहरूमा पनि समीक्षाले आफ्ना प्रशंसकहरूसँग भेटघाट गरिन् र आगामी फाइनलका लागि समर्थनको अपिल गरिन्। गाउँनगरमा यतिबेला उनको चर्चाले उच्च स्थान पाएको छ।

समीक्षाको फाइनल प्रतिस्पर्धा आगामी शनिबार हुँदैछ। टप ८ प्रतियोगीहरू मध्येबाट विजेता घोषणा गरिनेछ। आफ्नो प्रतिभासँगै दर्शकको माया र साथबाट यो उपलब्धि हासिल गरेकी समीक्षाले फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ। स्थानीय समुदायको समर्थन र उत्साहले समीक्षालाई थप प्रेरणा मिलेको छ।