इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिकाको वडा १४ र १५ मा ४५ दिने लेभल २ सिलाई कटाई तालिम सम्पन्न भएको छ। उपमहानगरपालिकाको रोजगार शाखाको आर्थिक सहयोग र पहिलो पाइला इन्स्टिच्युट प्रा.लि.को आयोजनामा संचालित यस तालिममा ४१ जना महिलाहरूले सहभागिता जनाएका थिए।

समापन कार्यक्रममा नगर उपप्रमुख संगीता चौधरीले सिकेको सीपलाई व्यवहारमा उतार्न र स्वरोजगार बन्न आग्रह गर्नुभयो। प्रशिक्षक जानुका निरौलाले तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक उपार्जनमा सहयोग पुर्याउने बताउनुभयो।

कार्यक्रम निर्देशक पार्वती गच्छदारले बेरोजगारी समस्या समाधान र आय आर्जन वृद्धिका लागि यो तालिम आयोजना गरिएको जानकारी दिनुभयो। वडा १५ का अध्यक्ष जयनारायण चौधरीले यस्ता सीपमूलक तालिमले राष्ट्रको विकास र समृद्धिमा योगदान पुर्याउने विचार व्यक्त गर्नुभयो।
