सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचोकमा यही माघ ३० देखि फागुन १० गतेसम्म सुन्दरहरैंचा विराट एक्स्पो ४ सञ्चालन हुने भएको छ । आयोजकले आइतबार एक्स्पो स्थलमा पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी अन्तिम अवस्थामा पुगेको जनाएको छ । एक्स्पोको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने हुनुभएको छ ।
आइतबार एक्स्पोस्थलमा पत्रकार सम्मेलन गरी मूल समारोह समितिका संयोजक भोलेश्वर दुलालले दिनुभएको जानकारीअनुसार एक्स्पो सञ्चालनबाट ४ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने र त्यसमध्ये आधा रकम बचत हुने छ । एक्स्पोमा १९४ स्टलहरू रहने उल्लेख गरिएको छ । जसमा ११४ वटा बिजनेस स्टल, ४० वटा एग्रिकल्चर स्टल, १५ वटा अटोमोबाइल स्टल, १६ वटा होटलका स्टल तथा मुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजकका ९ वटा स्टल रहने भएका छन् ।
विद्यार्थीहरूको लागि दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेश दिइने एक्स्पोमा नगरपालिकास्तरीय नृत्य, सङ्गीत प्रतियोगिताहरूसहित दैनिक सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिनेछ । खेलकुद प्रतियोगिता, साहित्य उत्सव, योग तथा ध्यानका साथै शारीरिक सुगठनसम्बन्धी जानकारी र जनचेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
दिउँसो ३ बजेसम्म प्रति व्यक्ति १०० रुपैयाँ र ३ बजेपछि २०० रुपैयाँ टिकट दर राखिएको सो एक्स्पोमा टिकटबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य रहेको आयोजकले जनाएको छ । ३ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ । बचत भएको रकम सुन्दरहरैंचामा निर्माण भइरहेका २ वटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माणको काम पूरा गर्न र थप ४ वटा सार्वजनिक शौचालय निर्माणको लागि खर्च गरिने आयोजकले जनाएको छ ।
उद्योग वाणिज्य संघले १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर एक्स्पो सञ्चालन गर्न लागेको हो । आगामी दिनमा मेला लगाउने मात्र नभएर बहुप्रयोजनका लागि सो जग्गा उपयोग गर्न स्थायी घेराबारा, शौचालय, गेट र मञ्च बनाइने भएको छ ।
एक्स्पोलाई सफल बनाउन वाणिज्य सङ्घले विभिन्न सङ्घ–संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको छ । यसअघि सुन्दरहरैंचामा २०६६ साल, २०७३ साल र २०७६ सालमा एक्स्पो सञ्चालन भएका थिए ।
पत्रकार सम्मेलनमा झापा, मोरङ र सुनसरीका सञ्चारकर्मीको उपस्थिति थियो । पत्रकार सम्मेलनपछि सञ्चारकर्मीलाई आयोजकले निर्माण सम्पन्न भई चालु अवस्थामा रहेका विराटचोक र सलकपुरका सार्वजनिक शौचालयको अवलोकन गराएको थियो ।