विराटचोक / मोरङकाे सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गछियामा बस्ती नजिकै क्रसर उद्योग सञ्चालनको प्रयास भएपछि स्थानीयवासीले तीव्र विरोध गरेका छन्।
स्ट्रन्ड एग्रिगेट एण्ड स्ट्रन्ड मिल्सले २०६१ सालमा दर्ता गरी केही वर्ष सञ्चालन गरेको क्रसर उद्योगलाई १६/१७ वर्षपछि पुनः गछिया बजार उत्तरतर्फ सारेर सञ्चालन गर्न खोजेपछि विवाद उत्पन्न भएको हो। बस्ती छेउमै क्रसर सञ्चालन गर्न लागेपछि सो क्षेत्रका तीन वटा टोल विकास संस्थाका करिब ३ सय नागरिकले हस्ताक्षर संकलन गरी नगरप्रमुख केदारप्रसाद गुरागाईं समक्ष बन्द गराउन निवेदनसमेत दिएका छन्।

स्थानीयको निवेदनपछि सुन्दरहरैंचा नगरपालिका, प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय र जिल्ला समन्वय समितिले संयुक्त रूपमा स्थल अनुगमन गरेको हो।
अनुगमनका क्रममा नगरप्रमुख गुरागाईंले वातावरणीय प्रभाव अध्ययन नगरी क्रसर सञ्चालन गर्न नपाइने स्पष्ट पार्दै, “पूर्ण कानुनी प्रक्रिया बिना कुनै हालतमा क्रसर सञ्चालन गर्न दिइँदैन” भन्नुभयो। उहाँले नगर क्षेत्रमा सञ्चालनमा रहेका अन्य क्रसर उद्योगलाई पनि व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो।

आइतबार बिहान गरिएको अनुगमनका क्रममा ठूलो संख्यामा स्थानीयवासी उपस्थित भई विरोध जनाएका थिए। स्थानीयवासी रुद्र दाहालले भने, “बस्ती र खोलानजिक क्रसर सञ्चालन गर्दा धूलो प्रदूषणले स्वास्थ्यमा गम्भीर असर पार्छ, त्यसैले तत्काल रोक्नुपर्छ” भन्नुभयो।

उद्योगका सञ्चालक मध्येका प्रलाद लिम्बूले कानुनअनुसार मात्र सञ्चालन गर्ने अठोट व्यक्त गर्दै, “कानुन विपरीत भए उद्योग नचलाइनेछ” भने पनि कसैले नियोजित रूपमा उद्योग बन्द गराउन खोजेको भन्दै आपत्ति जनाउनुभयो।
अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई तथा सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी थिए। तर पत्रकारहरूले प्रश्न गर्दा प्रजिअ यादवले प्रतिक्रिया दिन अस्वीकार गर्दै भिडियो खिच्नसमेत रोक्नुभएको थियो।
अनुगमनपछि नगरप्रमुख गुरागाईंले सम्भाव्यता अध्ययनबिनै बस्ती छेउमा क्रसर सञ्चालन गर्न नहुने भन्दै तत्काल रोक लगाउन आग्रह गर्नुभयो। जिल्ला समन्वय समिति प्रमुख राईले आवश्यक कागजातसहित कार्यालयमा उपस्थित हुन व्यवसायीलाई निर्देशनसमेत दिनुभयो।




