फिचर समाचार स्थानिय

मिक्लाजुङमा करेन्ट लाग्दा विद्यार्थीको दुःखद निधन

मिक्लाजुङ, २६ फागुन । मोरङको मिक्लाजुङ गाउँपालिका–१ मान्द्रेमामा आइतबार दिउँसो करेन्ट लागेर एक विद्यार्थीको निधन भएको छ। टाँडी माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत निर्मला राई बाख्रा चराउन जंगलमा गएको बेला अव्यवस्थित तरिकाले गाडिएको विद्युतीय पोलमा करेन्ट लाग्दा ज्यान गुमाएकी हुन्।

घटनाले स्थानीय बासिन्दा, निर्मलाको परिवार तथा विद्यालय समुदायलाई गहिरो शोकमा डुबाएको छ। स्थानीयहरूले ग्रामीण क्षेत्रमा विद्युतीय सुरक्षाको अभावप्रति आक्रोश व्यक्त गर्दै यस्ता दुर्घटनाहरू नदोहोरियोस् भनेर विद्युत प्राधिकरण र स्थानीय प्रशासनलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन्।

विद्युत लाइनको उचित मर्मत सम्भार र सुरक्षा व्यवस्थापनमा बेवास्ता गरिएको आशंकासहित स्थानीयले दोषी निकायलाई जिम्मेवार बनाउनुपर्ने माग गरेका छन्। यस घटनाले ग्रामीण क्षेत्रमा विद्युतीय सुरक्षाको आवश्यकता देखाएको छ।