फिचर राजनीति समाचार

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने कांग्रेसकाे निर्णय

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री भएको मितिले २० दिन भित्रमा विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ । यसर्थ असोज २० गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिइसक्नु पर्नेछ । कार्की भदौ २२ गते मुख्यमन्त्री बनेका थिए ।
कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीका अनुसार दोस्रो पटक अध्यादेशमार्फत आएको बजेट मन्त्रालयगत रुपमा कार्यान्वयन नगर्न मन्त्रालयहरूलाई आग्रह ​गर्ने निर्णयसमेत भएको छ ।

अब संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार निर्माण हुँदा कांग्रेसको भूमिकाको विषयमा समेत सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए ।

भदौ ४ गते उपसभामुख सिर्जना दनुवारले बैठक डाकेर संसदीय मर्यादाविपरीत अनुपस्थित भएको सन्दर्भमा खेद प्रस्तावसमेत पारित गरेको उपनेता कार्कीले बताए । कार्की नेतृत्वको सरकारले अध्यादेशमार्फत आएको बजेट प्रतिस्थापन विधेयक दर्ता गराइ यसै हप्ता सभाको बैठक डाकेर पारित गराउने तयारी थालेको छ ।