फिचर समाचार स्थानिय

मेची बहुउद्देश्यीय सहकारी बेलबारी सेवा केन्द्रकाे साधारणसभा सम्पन्न

 विराटचाेक:  मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेलबारी सेवा केन्द्र अन्तर्गतको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। मोरङको बेलबारीस्थित सांगठनिक सांस्कृतिक भवनको सभाहलमा आयोजित कार्यक्रममा बेलबारी-३ का वडाध्यक्ष योगेन्द्र सुवेदी प्रमुख अतिथि रहेका थिए।

बेलबारी सेवा केन्द्रमा ५७३ सदस्य रहेका छन्। गत वर्ष ५७ जना सदस्यले मृत्यु दाबी, शैक्षिक छात्रवृत्ति, सुत्केरी सुविधा र जटिल शल्यक्रिया लगायतका विभिन्न सुविधाहरू लिएका छन्। यी सुविधाहरूमा कुल ४ लाख रुपैयाँ वितरण गरिएको छ। कर्जा लिने सदस्यको संख्या ११७ रहेको छ।  बेलबारी सेवा केन्द्रको ४ करोड बराबरको ब्यालेन्स सिट रहेको जानकारी दिइएको छ।

झापाको दमकमा केन्द्रीय कार्यालय रहेको यो सहकारीले १२ वटा शाखा मार्फत १६ हजार सदस्यलाई सेवा दिँदै आएको छ। संस्थाले चाँडै सुन्दरहरैँचामा समेत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

प्रमुख अतिथि सुवेदीले विधि र नियममा रहेर सहकारी संस्थाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको बचत नीति र भविष्यको योजनाबारे जानकारी दिए। उनले स्वाभिमानी सदस्य बनाउने र भविष्यका लागि बचत गर्ने संस्थाको मुख्य उद्देश्य रहेको बताए।

संस्थाले आगामी वर्ष पानीको उद्योग निर्माणका लागि २ करोड, मेची आवास-२ निर्माणका लागि ४ करोड र फलफूल खेतीका लागि बजेट विनियोजन गरेको छ। 

कार्यक्रममा जटिल मुटुरोग अप्रेसन सुबिधा बापत सरस्वती शर्मा उपाध्यायलाई ५० हजार रूपैयाँ प्रदान गरिएको थियो।

यसैगरी साधारणसभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु रमा निरौला, भुवनसिंह खत्री, सुरज भन्डारी, मेघनाथ अधिकारी, सदस्य उपस्ना सुब्बाकी छोरी नुङनुमा बान्तवालाई पुरस्कृत गरिएको थियो । सामुदायिक विद्यालय एकता आधारभुत बिधालय प्रथम हुने सेयर सदस्य टिकाराम खत्रीका छोरा नोयन खत्रीलाइ पनि रु ५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वती बराल र कोशी प्रदेश बचत तथा ऋण सहकारी संस्था संघका अध्यक्ष हरि सुवेदी लगायतको उपस्थिति रहेको थियो। भने अध्यक्षता बेलबारी केन्द्रका संयाेजक सन्ताेष वान्तवाले गर्नुभएको थियो ।