विराटचोक । मेची बहुउद्देश्यीय सहकारी संस्थाको २९ औं वार्षिकोत्सव तथा ३१ औं साधारणसभा अन्तर्गत बेलबारी सेवा कार्यालयस्तरको साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रममा बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिकी संयोजक सिता सुवेदीको अध्यक्षता रहेको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले गरेका कामका बारेमा जानकारी दिँदै अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बेलबारी सेवा कार्यालयमा हाल ६५० जना शेयर सदस्य रहेका छन् । आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म यस कार्यालयको सेयर पुँजी ५० लाख ५१ हजार, बचत ४ करोड ६३ लाख, कर्जा लगानी ५ करोड ३२ लाख र वासलात ५ करोड ९४ लाख पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । संस्थाले वित्तीय कारोबारलाई चुस्त बनाउन पल्स प्रणाली अनुसार व्यवस्थापन गर्दै आएको जनाएको छ ।

यस वर्ष ४० जना सदस्यले दैविक राहत, स्वर्गारोहण तथा उपचार खर्चसहितका विभिन्न सुविधा लिएका छन् । सो सुविधा रकम जम्मा २ लाख ७१ हजार बराबरको रहेको छ । साथै, यस वर्षदेखि सदस्यका छोराछोरीले सहकारी विषयमा विद्यावारिधि गर्ने भएमा एक लाख रुपैयाँ खर्च उपलब्ध गराइने, एसईईमा जिल्ला प्रथम हुनेलाई ५० हजार र ४ जीपीए ल्याउनेलाई उच्च शिक्षाका लागि २५ हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

सञ्चालक समिति अध्यक्ष भट्टराईले धेरै सदस्यलाई सानो संख्यामा लगानी गरेर उद्यमशील बनाउन तालिम, अध्ययन अवलोकन तथा उत्पादनको बजारिकरणमा सहयोग गर्ने योजनाबारे जानकारी दिनुभयो । उहाँले सदस्यलाई १० लाखसम्म उद्यमशील कर्जा नौ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने र आगामी तीन वर्षसम्म ब्याजदर नबढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मोरङ सहकारी संस्था लिमिटेडका सचिव राकेश दाहालले शुभकामना व्यक्त गर्दै सहकारीसँग बाझिने कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । तर सरकारले यसप्रति खासै चासो नदेखाएको उहाँको भनाइ थियो ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने सदस्य दिनेश राई, रामबहादुर बस्नेत, क्यारोलिना पन्त, मनिसा पाण्डे र कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो भने सामुदायिक विद्यालयका प्रथम सेयर सदस्य टिकाराम खत्रीका छोरा नोयन खत्रीलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा सञ्चालक सदस्य नरपति पाण्डे, खेमराज घिमिरे, कृष्णप्रसाद सर्मा लुईटेल, मञ्जु फुयल अधिकारी, लेखा सुपरिवेक्षण समितिकी सदस्य गिता कुँवर, शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहाल तथा बेलबारी सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्य बिमला राई र श्यामप्रसाद भण्डारीको पनि उपस्थिति रहेको थियो ।
सदस्यलाई सुझाव दिन प्रोत्साहित गर्न सामान्य सुझाव दिने सदस्यलाई १०० रुपैयाँ र उत्कृष्ट सुझाव दिने ४० जना सदस्यलाई १,००० रुपैयाँसम्म प्रोत्साहन प्रदान गरिने संस्थाले जनाएको छ । सो कार्यक्रम बेलबारी सेवा कार्यालय प्रमुख रमेश क्षेत्रीले सञ्चालन गर्नुभएको थियो । साधारणसभा लेखापरीक्षण प्रतिवेदन र अध्यक्षको प्रतिवेदन पारित गर्दै सम्पन्न भएको छ ।




