कोशी प्रदेश खेलकुद खेलकुद फिचर समाचार

मोरङकी दीपा विष्ट चौथोपटक बनिन् विश्वच्याम्पियन


थाइल्यान्डमा सम्पन्न विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइभिपी च्याम्पियनसिपमा मोरङ सुन्दरहरैँचाकी खेलाडी दीपा विष्टले लगातार चौथोपटक विश्वच्याम्पियन बन्ने कीर्तिमान राखेकी छिन् ।
२०८२ असार ३२ देखि ३ साउन (जुलाई १६–१९, २०२५) सम्म थाइल्यान्डको फत्तायामा सम्पन्न उक्त प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका– ११, की ३० वर्षीया खेलाडी दीपा ९० केजी तौल उठाउँदै १८ देशका प्रतिस्पर्धीलाई पछि पारेर चौथोपटक पनि विश्वच्याम्पियन बन्न सफल भएकी हुन् ।
उनी यसअघि पनि लगातार तीनपटक विश्व च्याम्पियन बनेकी थिइन्। दुईपटक विश्वकै ‘सबैभन्दा शक्तिशाली महिला’ अर्थात् वर्ल्ड स्ट्रोङगेस्ट वुमनको उपाधि जितेकी दीपाले यसअघि ९५ केजी तौल उठाएर विश्वकीर्तिमान पनि कायम गरिसकेकी छिन् ।

यसपटक शारीरिक चोटका कारण उनले ९० केजी तौल मात्र उठाए पनि उपाधि रक्षा गर्न सफल भइन्। उक्त प्रतियोगितामा भारतका खेलाडी दोस्रो र श्रीलंकाका खेलाडी तेस्रो स्थानमा रहे ।
नेपालकै प्रतिष्ठित धर्मश्री बडिबिल्डिङ प्रतियोगितामा समेत प्रतिस्पर्धा गरिसकेकी दीपाले सन् २०२१ बाट स्ट्रेन्थ लिफ्टिङ खेल खेल्न सुरु गरेकी हुन्। उनले २०७९ मा किर्गिस्तान, २०८० मा भारतको हैदराबाद, २०८१ मा पुनः किर्गिस्तान र हालै २०८२ मा थाइल्यान्डमा सम्पन्न प्रतियोगितामा लगातार उपाधि जित्दै ‘विश्वच्याम्पियन’को उपाधि कायम राखेकी छिन्।
अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेकी विष्टको कप्तानीमा प्रतियोगितामा सहभागी १४ जना नेपाली खेलाडीले समेत विभिन्न पदक जित्न सफल भए । तीमध्ये सातजनाले स्वर्ण, पाँचजनाले रजत र दुईजनाले कांस्य पदक जितेका थिए । काठमाडौंमा बस्दै आएकी अमृता खड्काले महिलातर्फ स्वर्ण जितिन् भने नेपालगन्जका खेलाडी करण वाग्लेले पनि विश्वजुनियरतर्फबाट स्वर्ण पदक जिते ।