विराटनगर / जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका लागुऔषध मुद्दाका १ जना कैदीको मृत्यु भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए । उनका अनुसार लागुऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका दर्जीको उपचारका क्रममा मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो ।
ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि दर्जीलाई उपचारका लागि गत जेठ ३० गते कोशी अस्पताल भर्ना गरिएको थियो । कोशीमा सम्भव नभएपछि थप उपचारका लागि असार ३ गते विराट शिक्षण अस्पताल लगिएको ढुंगेलले बताए ।
लामो समयदेखि उपचाररत दर्जीको स्वास्थ्य अवस्थामा सुधार भएन । उपचारकै क्रममा साँझ ७ः५० बजेतिर मृत्यु भएको जानकारी कारागारले दिएको छ ।
लागुऔषध मुद्दामा कसुरदार ठहर भएका दर्जी २०८१ पुस ४ गतेदेखि कारागारमा थिए । उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो ।मृतकको शव जिम्मा लगाउन परिवारसँग समन्वय भइरहेको जेलर ढुंगेलले बताए । पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ ।
