विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ।
कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि डा. छवि वैरागी घिमिरेले कृषिकर्म र साहित्यबीचको अन्तरसम्बन्धबारे प्रकाश पार्दै किसानका जीवन भोगाइ र श्रमलाई साहित्यले अझ सशक्त रूपमा अभिव्यक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विगतमा आमाहरूले ढिँकी–जाँतो, मेलापात गर्दाको थकान भुल्न गाइने भजन, बालन, झ्याउरे गीत तथा विभिन्न जातजातिले आफ्ना संस्कार र परम्परालाई जोगाइराखेको उदाहरण प्रस्तुत गर्दै भाषा, कला र संस्कृति संरक्षण गर्न सके समाज समृद्ध हुने बताउनुभयो।
कार्यक्रममा कोशी साहित्य–कला परिषद्का अध्यक्ष केशु विरहीले किसानसँग सम्बन्धित सिर्जनाहरूले ग्रामीण परिवेश, किसानका दुःख–पीडा र आवश्यकतालाई साहित्यमार्फत सरकारसम्म पुर्याउन भूमिका खेल्ने बताउनुभयो।
यस्तै वक्ता तथा रङ्गेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साहले भाषा, कला र संस्कृतिको प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरपालिकाले किसानसँग जोडिएर काम गर्दै आएको उल्लेख गर्दै हरेक किसानका लागि आवश्यक विद्युत् महसुल नगरपालिकाले भुक्तानी गर्दै आएको जानकारी दिनुभयो। यसका लागि किसान सूचीकृत हुनुपर्ने उहाँको भनाइ थियो।
कृषि फार्मसमेत सञ्चालन गर्दै आउनुभएका साहले कृषिसँग सम्बन्धित योजना तथा तालिममा सहजीकरण गर्ने बताउँदै देशकै नयाँ र नौलो कार्यक्रम रङ्गेलीमा आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो। जामुनको फेदमा पलेँटी कसेर साहित्यसँगै किसानका कुरा सुन्न पाउनु र खाजामा अर्गानिक भक्का खान पाउनु यस कार्यक्रमको विशेषता भएको उहाँले बताउनुभयो।
साहित्यकार रमेशचन्द्र अधिकारीले साहित्य चोकमा यस किसिमको कार्यक्रम आयोजना हुनु सकारात्मक भएको बताउँदै साहित्यमार्फत किसानका दुःख, पीडा र खुसी सुनिने तथा सुनाइने यो कार्यक्रम अत्यन्तै सुन्दर र अर्थपूर्ण भएको धारणा राख्नुभयो। यस्ता कार्यक्रमले ग्रामीण जीवनमा पठन संस्कृतिको विकास गर्दै बालबालिकामा सिर्जनशीलताको महत्व सिकाउने उहाँले बताउनुभयो।
कार्यक्रममा स्रष्टाहरू चन्द्रप्रसाद आचार्य (रङ्गेली), प्रकाश भट्टराई (बेलबारी), पुरन याक्खा (सुन्दरहरैंचा), इन्द्र न्यौपाने (झापा), एलिसा बिष्ट (रङ्गेली), बाबुराम पोखरेल (विराटनगर), डा. देवी पन्थी (काठमाडौं), नन्दकुमार राई (रङ्गेली), टीकालाल धिमाल (रङ्गेली), रुपनारायण श्रेष्ठ (सुन्दरहरैंचा), शैलेन घिमिरे (विराटनगर), मोतीराम ढुङ्गाना (रङ्गेली), रामनरेश झा (रङ्गेली), डम्बर खड्का (रङ्गेली)लगायतले आफ्ना रचना वाचन गर्नुभएको थियो । अतिथिहरु चारु साहित्य प्रतिष्ठानका डा. देवी पन्थी, गीतकार इन्द्र न्यौपानेलगायतले आयोजकले उदाहरणीय काम गरेको बताउनुभयो ।
गाउँ–गाउँमा पठन संस्कृतिको अभिवृद्धि गर्दै लक्षित समुदायमा सिर्जनशीलता विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा संथाल समुदायकाे नृत्य समेत प्रस्तुत गरिएकाे थियो । रङ्गेली साहित्य कला समाजका अध्यक्ष चिरञ्जीवी काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन काेशी साहित्य परिषद् का सचिव नवराज पाेख्रेल नवशिलाले गर्नुभएको थियो । तस्बिर




