खोटाङ / हलेसीमा आयोजित राष्ट्रिय कविताको प्रथम पुरस्कार सुनसरीका किरण सिवाले जितेका छन् । नेपाल खेलकुद प्रतिष्ठानको आयोजना तथा रावा–सावा प्राज्ञिक समाज र टेम्के तुवाचुङ प्रतिष्ठानको सहआयोजनामा हलेसीको जाम्बाला होटलमा आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगिताको उपाधि जितेका हुन् ।
बिर्खे दमाईको आवाज शीर्षकको कवितामा उनले ४० हजार नगद, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगितामा भोजपुरका सङ्ग्राम राईले दोश्रो पुरस्कार जितेका छन् । बाध्यता कि रहर शीर्षकमा राईले नगद २५ हजार, मेडल र प्रमाणपत्र पाएका छन् । तेस्रो हुने उदयपुरका जीवन चाम्लिङले भरिया दाइ शीर्षकको कवितामा नगद १७ हजार, मेडल र प्रमाणपत्र हात पारे । चौथो हुने सिन्धुलीका बाबुराम श्रेष्ठले छमकली रोकाया शीर्षकमा नगद ११ हजार र प्रमाणपत्र पाएका छन् भने भोजपुरकी सकिला राईले ‘म यात्री मनको’ शीर्षकमा नगद सात हजार र प्रमाणपत्र पाएका छन् ।
खोटाङमा जारी प्रथम बृहत् खोटाङ हलेसी खेलकुद साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको अवसरमा आयोजित कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको हो । यसै अवसरमा टेम्के तुवाचुङ प्रतिष्ठानले कवि जसराज किरातीलाई सम्मान गरेको छ । नगद ११ हजार, एक सय ११ रूपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानको तर्फबाट किरात र जोसमनी सन्त दर्शनमाथि कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । किरात दर्शनमाथि भोगीराज चाम्लिङ र जोसमनी सन्त दर्शनमाथि डिआर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञाप्रतिष्ठानका दर्शनशास्त्र विभागका डा. कृष्णराज अधिकारी लगायतको सहभागिता थियो । उक्त कार्यक्रम टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेको अध्यक्षतामा भएको हो । राष्ट्रिय कविता प्रतियोगितामा निर्णायक मण्डल वेदीकुमार राई ( सदस्य, खोटाड.), कविता राई ( सदस्य ,भोजपुर ) तथा रामविक्रम थापा ( संयोजक ,खोटाड.) रहेका थिए ।