विराटचाेक: नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
माेरङकाे सुन्दरहरैँचा ८ सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको हाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेले आगामी दिनमा वडाले रेडक्रससँग सहकार्य गरेर विपद्जन्य कार्यमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति घनिन्द्र न्यौपानेले संस्थाले हालसम्म गरेका कार्य र आगामी योजना समावेश गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
साधारणसभाका अवसरमा सञ्चारकर्मी कृष्णचन्द्र सुवेदीलाई सम्मान गरेकोे छ । पत्रकारिता गरिरहेका सुवेदीलाई रेडक्रश उपशाखा सुन्दरहरैँचाले स्व. मनोरथ ढकाल स्मृति युवा पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो । रेडक्रश उपशाखा सुन्दरहरैँचाका संस्थापक अध्यक्ष टीकाराम ढकालले स्थापना गर्नुभएको पुरस्कार पहिलो पटक सुवेदीलाई प्रदान गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका सभापति घनिन्द्र न्यौपाने, कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खेमप्रसाद न्यौपाने, पुरस्कारको दाता परिवारका प्रतिनिधिले पत्रकार सुवेदीलाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर नगदसहित सम्मान गर्नुभयो ।
कार्यक्रममा आजवीन सदस्यता लिएकाहरुलाई सदस्यताको प्रमाणपत्र समेत वितरण गरिएको थियो । सोसाइटीका सचिव बाबुराम निरौलाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि सञ्चारकर्मीहरु लगायतको उपस्थिति थियो ।