फिचर समाचार स्थानिय

लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटचाेक: सुन्दरहरैंचा नगरपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय मृगौलियामा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय हरैंचाको समन्वयमा आयोजित यस कार्यक्रममा प्रहरी नायब निरीक्षक अशोक कार्कीले सहजीकरण गर्नुभएको थियो।

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित यस कार्यक्रममा लागुपदार्थको प्रयोगले मानिसमा पर्ने असर, कानुनी अपराध र यसको सजायका बारेमा जानकारी दिइएको थियो। साथै, लागुपदार्थको प्रयोग रोक्न समाज र परिवारको भूमिका महत्त्वपूर्ण रहेको र यसको बेचबिखन भएको अवस्थामा प्रहरीलाई सूचना दिनुपर्ने कुरामा जोड दिइएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा दिने र लागुपदार्थको कुलतबाट बच्न सहयोग पुग्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न आग्रह गरेका थिए।

विद्यालयका सहायक प्रधानाध्यापक तोयानाथ रेग्मीले यो कार्यक्रम अत्यन्त आवश्यक र उपयोगी रहेको बताउँदै यसले विद्यार्थीहरूमा चेतना जगाएको उल्लेख गर्नुभयो।

कार्यक्रमको आयोजना जनचर्चा टाइम्स र पूर्वी अनलाइनको संयुक्त प्रयासमा गरिएको थियो। जनचर्चा टाइम्सका सञ्चालक लिलानाथ गच्छदारले समाजमा युवाहरू लागुपदार्थको दुर्व्यसनमा फस्ने गरेको चिन्ता व्यक्त गर्दै, यसको रोकथामका लागि विद्यालयस्तरमा जनचेतना फैलाउन र नियन्त्रण गर्न सहज हुने भएकाले यस्ता कार्यक्रमहरू आयोजना गरिएको बताउनुभयो।