कोशी प्रदेश फिचर समाचार स्थानिय

लेखापढी व्यवसायी एसोसिएसन इकाई समिति बेलबारीकाे  साधारणसभा सम्पन्न

विराटचाेक:  नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति बेलबारीको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहाल हुनुहुन्थ्यो।

उहाँले शुभकामना व्यक्त गर्दै नेपाल लेखापढी व्यवसायीलाई राज्यले बिचौलिया देख्नु दुःखद भएको बताउनुभयो। अदालतले लाइसेन्स दिएर काम गर्नेलाई यस्तो भन्नु गलत भएको समेत बताउनुभयो। यस्तै, आफ्नो संगठनमा कुनै कमीकमजोरी भए तत्काल कारबाही हुने भन्दै कर्मचारीले गल्ती गर्दा राज्यले कारबाही गर्न नसक्ने अवस्था चाहिँ बिचौलिया जोगाउने खेल भएको भन्दै कटाक्ष गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय महासचिव कृष्णप्रसाद दाहालले व्यवसायीको हक हित स्थापित गराउन सधैँ लागिरहेको बताउनुभयो। यस्तै, लामो समयदेखि लेखापढी गरिरहनेलाई नयाँ प्रविधि र नयाँ कानुनका विषयमा तालिम दिन आवश्यक रहेको बताउनुभयो। यसैगरी बेलबारी इकाई समितिलाई नागरिक पेन्सन योजनामा लाग्न आग्रह गर्दै सामूहिक जीवन बीमातर्फ पनि अग्रसर हुन सुझाउनुभयो।

बेलबारी इकाई समिति २५ वर्ष पुगेको अवसरमा संस्थाले सबैभन्दा धेरै भू-सेवा प्रयोग गर्ने ४ जनालाई सम्मान गरेको छ। जसमा प्रथम सजिलो लेखापढी फर्म, क्रमशः दोस्रो, तेस्रो र चौथोमा माधव काफ्ले, सगरमाथा लेखापढी र व्यक्तिगततर्फ विमल पोखरेललाई सम्मान गरिएको हो।

यसैगरी सबैभन्दा धेरै लिखत दर्ता हुनेमध्येबाट पथरी लेखापढी सेन्टर र केराबारी बयरवन लेखापढी सेन्टरका सञ्चालक प्रह्लाद राजवंशीलाई सम्मान गरिएको हो।सबैभन्दा धेरै नेपाली कागज खरिद गर्ने पूर्वाञ्चल लेखापढी सेन्टरलाई समेत सम्मान गरिएको छ।

साधारणसभामा सचिव कैलाश पोखरेलले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो। उहाँले २०८१/८२ मा गर्ने महत्त्वपूर्ण योजना समेत प्रस्तुत गर्नुभयो। जसमा नयाँ सदस्य वृद्धि, क्यालेन्डर प्रकाशन, विभिन्न दररेटका बारेमा उपस्थित सदस्यलाई जानकारी गराउनुभयो।

यस्तै कोषाध्यक्ष प्रकाशकुमार थापा मगरले संस्थाको हरहिसाबसँगै यस वर्षको बजेट समेत प्रस्तुत गर्नुभएको छ। जसमा आम्दानी ६३ लाख ९६ हजार रहेको छ। खर्चतर्फ ६१ लाख २५ हजार रहेको छ। संस्थाको खुद आम्दानी २ लाख ७१ हजार रहेको छ।

बेलबारीमा रहेको यो इकाई देशभरिकै उत्कृष्ट भएको विभिन्न वक्ताहरूले बताउनुभएको थियो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष युवराज कार्की, बेलबारी मालपोत अधिकृत हरिप्रसाद पौडेल, विभिन्न इकाईका अध्यक्ष, क्याम्पस सहायक क्याम्पस प्रमुख बेलबारीलगायत कानुन व्यवसायीहरूको उपस्थिति रहेको थियो।