लेटाङ: लेटाङ नगरपालिकाको १५ औँ नगरसभाबाट स्वीकृत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख अतिथिको रूपमा बजेट किताबको सार्वजनिकीकरण गर्नुभयो।

उपप्रमुख कृष्णकुमारी पोख्रेल निरौलाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्ष काे चालुतर्फ ४३ कराेड ४० लाख ४३ हजार बिनियाेजन गरिएको छ । यस्तै पूँजीगत तर्फ १७ कराेड ४४ लाख ९४ हजार बिनियाेजन गरिए हाे । यसैगरी संघिय अनुदान तर्फ २३ कराेड ५० लाख विनियाेजन गरिएको छ । लेटाङकाे समग्र विकास गर्न बजेटका मुख्य प्राथमिकतामा सुशासन, कृषि, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, नदि नियन्त्रण, लक्षित वर्ग शसक्तिकरण, लगायत क्षेत्रलाई राखिएको छ ।

मुख्यमन्त्री कार्कीले नगरबासीको हितमा बजेट निर्माण गरेकोमा नगरपालिकाको प्रशंसा गर्दै कृषि व्यापार र स्थानीय परिकारको प्रदर्शनीले नगरवासीलाई उत्साहित तुल्याएको बताउनुभयो। उहाँले यो कार्य उदाहरणीय र सबैले सिक्न लायक रहेको उल्लेख गर्नुभयो।
नगरप्रमुख भुपेन्द्र कुमार लावतीले यसपटक बजेटको आकारलाई स्रोत अनुसार बनाइएको जानकारी दिनुभयो। अन्य पालिकाहरूमा स्रोत नभई ठूलो आकारको बजेट बनाएर खर्च गर्न नसकेको देखिएकाले लेटाङले स्रोतभन्दा धेरै बजेटमा जोड नदिएको बताउनुभयो। बजेट तथा कार्यक्रममा सबै पक्षलाई समेटिएको समेत बताउनुभयो
कार्यक्रममा डाक्टर, पाइलट, शिक्षक, कर्मचारी, विद्यार्थी, किसान, खेलाडीलगायत दर्जनभन्दा बढीलाई सम्मान गरिएको छ।

साथै नगरपालिकाभित्र रहेका कृषि, उद्योग व्यापार व्यवसाय, कफी खेती, मौरी पालन, केराको दाम्चाबाट डोरी निकाल्ने लगायतका विषयमा प्रदर्शनी राखिएको थियो। यस प्रदर्शनीले नगरबासी कृषकहरूलाई आफूले उत्पादन गरेका सामग्रीको प्रचारप्रसारमा सहयोग पुगेको बताइएको छ।

कार्यक्रममा सुन्दरहरैँचा, बेलबारी, पथरी नगरपालिकाका नगरप्रमुखहरू, जिल्ला समन्वय समितिका सभापति अजम्बर राई, नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थिति रहेको थियो।