Uncategorized

लेटाङमा खुल्ला व्यायामशालाको उद्घाटन

लेटाङ । मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा खुल्ला व्यायामशालाको उद्घाटन भव्य रूपमा सम्पन्न भएको छ। कमलपुर टोल बिकास संस्थाको आयोजनामा भएको कार्यक्रममा रन कमलपुर कार्यक्रमबाट बचेको रकम र कमलपुर सामुदायिक बन र देश बिदेशवाट आएको सहयोगमा निर्माण गरिएको यस व्यायामशालाको उद्घाटन समारोहमा समाजका विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास मन्त्री पिके राईले व्यायामशालाको औपचारिक उद्घाटन गर्दै, यसप्रकारको प्रोजेक्टले स्थानीय समुदायमा स्वास्थ्य र फिटनेसको महत्त्वलाई उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो। मन्त्री राईले भन्नुभयो, “खेलकुद र व्यायाम स्वस्थ जीवनको आधार हुन्। यस्तो संरचनाले मानिसहरूलाई नियमित रूपमा व्यायाम गर्न प्रेरित गर्छ, जसले समुदायको समग्र स्वास्थ्यमा सुधार ल्याउनेछ। यो प्रयास स्थानीयस्तरमा निकै सकारात्मक उदाहरण बन्न सक्छ। साथै, यसले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गरेर उनीहरूको शारीरिक तथा मानसिक विकासमा सहयोग पुर्याउनेछ।”

उहाँले वर्तमान राजनीतिक परिस्थितिमा खेलकुद र सामुदायिक क्रियाकलापको महत्त्वलाई विशेष रूपमा जोड दिनुभयो। “आजको राजनीतिक परिवेशमा, यस्ता पहलहरूले समुदायको एकता र भाइचारा कायम राख्न मद्दत गर्छ। यसरी अघि बढ्ने हो भने हामीले सामाजिक विकासका नयाँ आयामहरू प्राप्त गर्नेछौं,” मन्त्री राईले थप्नुभयो।

विशिष्ट अतिथि पूर्व सांसद घनश्याम खतिवडाले लेटाङको सांस्कृतिक र सामाजिक परिवेशको सन्दर्भमा खुल्ला व्यायामशालाको महत्त्वबारे चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “लेटाङले सधैं अग्रगामी सोच र सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्याएको छ। खुल्ला व्यायामशालाको निर्माणले यस स्थानको पहिचानलाई अझ सुदृढ बनाउनेछ। यस्ता प्रयासहरूले समुदायमा स्वास्थ्यको मात्र होइन, सहकार्य र सहभावको पनि प्रवर्द्धन गर्छ।”

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाले टोल विकास संस्थाको यस अद्वितीय पहलको प्रशंसा गर्दै भन्नुभयो, टोल विकास संस्थाले समुदायको हितका लागि गरेको यो काम अत्यन्त सराहनीय छ। यो व्यायामशाला स्थानीय बासिन्दाको लागि ठूलो उपहार हो, जसले मानिसहरूलाई स्वस्थ जीवनयापनमा योगदान पुर्याउनेछ।”

वडा अध्यक्ष डम्बर बहादुर राईले आफ्नो मन्तव्य राख्दै यस परियोजनामा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “यस व्यायामशाला निर्माणका लागि आर्थिक र अन्य किसिमका सहयोग पुर्याउने सबैलाई मेरो हार्दिक धन्यवाद। तपाईहरूको योगदानले नै यो सम्भव भएको हो। यसले हाम्रो समाजलाई अझ सशक्त र स्वस्थ बनाउने विश्वास लिएको छु।”

कार्यक्रम आयोजक कमलपुर टोल विकास संस्थाका अध्यक्ष भीम बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमले स्थानीय बासिन्दालाई उत्साहित बनाएको छ, र यसले समुदायमा स्वास्थ्य र फिटनेसलाई प्राथमिकता दिने नयाँ चरणको सुरुवात गरेको छ।