लेटाङ, २२ माघ / लेटाङ नगरपालिका र नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लेटाङ मोरङको सहकार्यमा “आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत स्वरोजगार” भन्ने नाराका साथ बाँसका फर्निचर तथा सजावट सामग्री निर्माण तालिम आजदेखि सुरु भएको छ।
४५ दिनसम्म चल्ने उक्त तालिम आज माघ २२ गतेबाट सुरु भई चैत ७ गतेसम्म सञ्चालन हुनेछ। तालिममा आदिवासी जनजाति समुदायबाट प्रतिनिधित्व हुने गरी १० जना सहभागी भएका छन्।
नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् लेटाङका अध्यक्ष बुद्धि चाम्लिङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्ण कुमारी निरौलाको प्रमुख आतिथ्य रहेको थियो। साथै, निमित्त प्रमुख प्रशासनिक अधिकृत चेतनाथ गौतम, प्रशिक्षक उमेश राई, महिला, बालबालिका तथा राजस्व शाखा प्रमुख शुष्मा कोइराला, आदिवासी जनजाति महासंघ लेटाङ नगर उपाध्यक्ष सीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख निरौलाले लेटाङ नगरपालिकाले स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धन गर्न सीप विकासलाई प्राथमिकता दिइरहेको बताइन्। उनले तालिमको माध्यमबाट सहभागीहरूले बाँसजन्य सामग्री निर्माणको सीप सिकेर नेपालमै उद्यम गर्न सक्ने उल्लेख गर्दै, “हातले बनाइने सामग्रीमा जति अभ्यास गर्यो, त्यति नै निपुणता हासिल गर्न सकिन्छ,” भन्ने धारणा व्यक्त गरिन्।
तालिमको सञ्चालनसँगै स्थानीय स्तरमा उत्पादन वृद्धिका साथै उद्यमशीलताको विकासमा योगदान पुग्ने बिश्वास नगरपालिकाले गरेको छ।